राष्ट्रिय सभामा दर्ता भयो स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक

  सोमबार २९, असोज २०८० १२:२८

धनगढी । सरकारले चिकित्सा शिक्षा सम्बन्धित विधेयक अगाडि बढाएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चिकित्सा शिक्षासँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान  विश्वविद्यालय विधेयक, २०८० दर्ता गरेको हो।    

गत शुक्रबार राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएसँगै यस विषयमा बहस सुरु भएको छ। दुवै संघीय संसदमा विधेयकमा दफाबार छलफल हुनेछ। राष्ट्रिय र प्रतिनिधि सभाबाट विधेय पारित भएपछि चिकित्सा शिक्षा मात्र पठनपाठन गराउने नेपालकै पहिलो विश्वविद्यालय सञ्चालनमा आउने छ।

सरकारले हाल सुदूरपश्चिमको कैलालीस्थित गेटमा निर्माणाधिन गेटा अस्पताललाई नै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान  विश्वविद्यालयका रुपमा अगाडि बढाएको हो। 

शिक्षा,    विज्ञान    तथा    प्रविधिमन्त्री    अशोककुमार  राईले संसदमा विधेयक दर्ता गर्दै हालसम्म छुट्टाछुट्टै  पठनपाठन  भइरहेको मेडिकल  कलेजलाई  एकीकरण  गर्न  र  एउटै  छातामुनि  ल्याउन सकिन्छ भन्ने उद्धेश्यले विधेयक ल्याइएको जानकारी दिए। 

गेटामा पूर्वाधार निर्माणको काम शिक्षा मन्त्रालयले नै अगाडि बढाएको हो। अस्पताल सञ्चालनका लागि भने पछिल्लो समय स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको छ। शिक्षा मन्त्रालयले आफूले निर्माण गरेको उक्त संरचना स्वास्थ्यलाई हस्तान्तरण गर्न आलटाल गर्दै आइरहेको थियो। स्वास्थ्य मन्त्रालयले सुरुमा अस्पताल र त्यसपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा शैक्षिक कार्यक्रम चलाउने गरी अगाडि बढाउने तयारी गरिरहेको थियो। सोही समयमा सरकारले विश्वविद्यालयको काम अगाडि बढाएको हो। संसदमा अहिले शिक्षा मन्त्रालयले नै विधेयक दर्ता गराएको छ।

विधेयक अनुसार विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहने र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था गरिएको छ। उपकुलपति भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रस्ताव गरिएको छ। विश्वविद्यालयले आफ्नो आंगिक शिक्षण संस्थाबाहेक अन्य कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने व्यवस्थाको प्रस्ताव पनि विधेयकमा गरिएको छ।

clock सोमबार २९, असोज २०८० १२:२८

प्रतिक्रिया