धनगढी पुगेर रामकुमारीले भनिन् : समाजवादी जागरण अभियान सकारात्मक

  शुक्रबार २६, असोज २०८० १५:२५

धनगढी । नेकपा (एकीकृत समाजवादी) ले सञ्चालन गरेको समाजवादी जागरण अभियान जनतामा पार्टीप्रतिको स्वीकार्यता बढाउँदै सकारात्मक सन्देशसहित अगाडि बढेको सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन्।

अभियानमा सामेल हुन आज काठमाडौंबाट धनगढी विमानस्थलमा अवतरण गरेपछि समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले गरेको स्वागतका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सचिव झाँक्रीले उक्त कुरा बताएकी हुन् ।

अभियानका क्रममा झापाको काकँडभिट्टादेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सहभागी हुँदासम्मको अनुभवका आधारमा उनले जनतासँग नेतृत्वले आमनेसामने हुँदै अन्तक्र्रिया गर्ने मौका पाएको र त्यसक्रममा पार्टी निर्माण, विचारधारात्मक विकास तथा रणनीतिक क्रियाशीलताका निम्ति नेतृत्वलाई प्रेरणा प्राप्त भइरहेको उल्लेख गरिन् ।

सोही उत्साहका कारण उनी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका कार्यक्रममा सरिक हुन् धनगढी आइपुगेको बताइन् । उनले भनिन्, ‘हामीले सबैजसो ठाउँमा जनतासँग कर्नर टक गर्ने मौका पायौं, जनताको कुरालाई नजिकबाट सुन्न पायौं ।’

पार्टी निर्माणको दुई वर्षका बीचमा यस किसिमको अभियान नचलाइएको कारण संगठित हुन चाहने मानिसहरुलाई संगठित गर्न नसकिएको र जिम्मेवारी व्यवस्थापनको कुरामा पनि पार्टी पछाडि परेको भन्दै अभियानले ती कुरा चिरेको बताइन् । उनले भनिन्, ‘अब पार्टी फरक ढंगले जान्छ भन्ने सन्देश अभियानले दिएको छ ।’

पार्टीको विद्यमान वैधानिक संरचना नेकपा ९एमाले० को आठौं महाधिवशनले तय गरेको विधानअनुसार रहेको र त्यसले नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति, भूमिका र क्रियाशीलतालाई सहज नबनाएको भन्दै अब पार्टीले त्यसलाई संशोधन गर्नुपर्ने कुरामा उनले जोड दिइन् ।

हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा यसबारे आफूले राख्नुपर्ने सबै कुरा राखेको र आगामी माघ महिनामा महाधिवेशन आयोजना गरिने भएका कारण आफ्ना मागहरुको कार्यान्वयन हुने, नहुने भन्ने विषयका लागि महाधिवेशन पर्खिरहेको उनले बताइन् ।

पार्टीको निर्माण, सञ्चालन र गतिविधिहरुलाई अगाडि बढाउने सन्दर्भमा आफूले लामो समयदेखि उठाउन चाहेका कतिपय कुरा उठाउन नपाएको र केन्द्रीय कमिटी बैठकमा आफ्ना कुराको सुनुवाई भएकोप्रति उनले सन्तुष्टि व्यक्त गरिन् । भनिन्, ‘मेरो कुरालाई पार्टीले महसूस गरेको र मैले पनि आफ्नो कुरा पार्टीले सुनेको महसूस गरेकी छु ।’

clock शुक्रबार २६, असोज २०८० १५:२५

प्रतिक्रिया