धनगढीमा शिक्षक र विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान गर्ने तयारी

  बुधबार २४, असोज २०८० ०९:५९

धनगढी । धनगढी उपमहानगरपालिका सामुदायिक विद्यालयमा दरबन्दी मिलानको तयारीमा जुटेको छ। शिक्षक र विद्यार्थी संख्याको आधारमा उपमहानगरले दरबन्दी मिलान गर्ने प्रक्रिया थालेको छ। यसअघि विद्यालय समायोजन गरेको उपमहानगरले हाल दरबन्दी मिलान गर्ने प्रक्रिया अगाडि बढाएको छ। दसैं विदा अगाडि नै दरबन्दी मिलानको कागजी प्रक्रिया टुङ्ग्याउने उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए।

‘अहिले हामी विद्यालयको नियमित अनुगमन निरीक्षणमा छौँ। निरीक्षणको क्रममा विद्यार्थीको संख्या र शिक्षकहरूको विषयत विवरण तयार गरिरहेका छौँ,’ उनले भने, ‘विद्यालय समायोजनका क्रममा पुल दरबन्दीमा रहेका र दरबन्दी मिलानका क्रममा पुल दरबन्दीमा परेका शिक्षकहरूको सरुवा गरिनेछ।’

शिक्षा महाशाखाले उपमहानगरभित्र सञ्चालित विद्यालयहरूमा अनुगमन र निरीक्षण गरिरहेको छ। ७२ वटै सामुदायिक विद्यालयको अनुगमनपछि शिक्षकहरूको विषयगत संख्या र विद्यालयहरूको मागका आधारमा दरबन्दी मिलान गरिनेछ। साउनमा विद्यालय समायोजन गरेको उपमहानगरले दोस्रो चरणमा दरबन्दी मिलान गर्ने काम थालेको छ।

‘दरबन्दी मिलान गर्न शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक विद्यालयको विद्यार्थी र शिक्षकको तथ्याङ्क अध्याबधिक गर्न थालेको छ’, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख खातीले बताए। धनगढीका केही सामुदायिक विद्यालयमा विद्यार्थीसंख्या कम  भए पनि शिक्षक संख्या अधिक रहेको छ भने बढी विद्यार्थी भएका विद्यालयमा शिक्षक दरबन्दी कम छन्।

स्थायी, राहत, करार र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकहरूको विषयगत वितरण पनि मिलेको छैन। यसैगरी, प्रधानाध्यापक, व्यवस्थापन समितिसँगको मनमुटावका कारण केही शिक्षकहरूले राम्रोसँग शिक्षण क्रियाकलाप नगरेको पाइएको छ। केही विद्यालयमा सामाजिक विषयका मात्रै शिक्षक हुँदा गणित र विज्ञान विषयका  शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ।

सबै विद्यालयमा विषयगत शिक्षकको उपलब्धता होस् भनेर उपमहानगरपालिका दरबन्दी समायोजनमा लागेको हो। विद्यालय अनुगमनपछि समायोजनको सूची प्रकाशित गरिने र समायोजनमा परेका शिक्षकहरूलाई काम गर्न चाहेको विद्यालय रोज्न लगाइने शिक्षा महाशाखा प्रमुख खातीले बताए। दरबन्दी मिलानमा विषयगत शिक्षक नपुग भएका विद्यालयमा  विषयगत शिक्षक पठाइने भएको छ। विषयत शिक्षक नभएर शिक्षण सिकाइ कमजोर भएको गुनासो आएपछि उपमहानगरपालिकाले दरबन्दी मिलानको योजना अगाडि बढाएको छ।

clock बुधबार २४, असोज २०८० ०९:५९

प्रतिक्रिया