नेकपा एमालेको सुदूरपश्चिम अध्यक्षमा तिमिल्सेना, जैशी र सिंह दाबेदार

  शनिबार २०, असोज २०८० १२:२३

धनगढी । कैलालीको धनगढीमा भोलि (आइबार) र पर्सी (सोमबार) हुने नेकपा एमालेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । सुदूरपश्चिममा एमालेका ५३ हजार बढी संगठित सदस्य छन्। ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्ने छ। 

एमालेको आगामी सुदूरपश्चिम अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन्। असोज २१ र २२ गते हुने पार्टीको प्रदेश अधिवेशनबाट अध्यक्ष हुन तीन जना दाबेदारको रुपमा देखिएका हुन्।

अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी तथा बचन सिंहले प्रदेश अध्यक्षका लागि दाबेदार देखिएका छन्। नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी प्रतिनिधि सभा सदस्य छन्। एमालेको दोहोरो पद तथा जिम्मेवारी नदिने विधि छ। तिमिल्सेना सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष हुन्।

२०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका नेता हुन्। आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकाले अध्यक्षको स्वाभाविक दाबेदार भएको उनले बताउने गरेका छन्। 

एमालेको प्रदेश अध्यक्षका अर्का दाबेदार जैशी पनि सुदूरपश्चिममा स्थापित नेता हुन। अछाम जिल्ला विकास समितिको सभापति भइसकेका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ। केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका जैशी १६ वर्षसम्म जिविस महासङ्घको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सह–अध्यक्ष थिए।

जैशीले आफ्नो प्रदेश अध्यक्षमा दाबी कायमै रहने र सहमतिको लागि वातावरणसमेत निर्माण गर्ने बताएका छन्। तिमिल्सेना र जैशी अहिले प्यानल बनाउने प्रयासमा छन्। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष बचनबहादुर सिंह पनि अध्यक्ष पदका आकांक्षी हुन्।

उनले पनि आफु प्रदेश अध्यक्षको दाबेदार रहेको भन्दै पत्रकार सम्मेलन गरेरै जानकारी गराएका छन्। एमाले प्रदेश अध्यक्षका दाबेदारहरू आन्तरिक तयारीमा छन्। एमालेले भने सर्वसहमतीमा प्रदेश कमिटी गठन गर्ने दाबी गर्दै आएको छ। सुदूरपश्चिम एमालेमा लेखराज भट्ट, दामोदर भण्डारी, कर्ण थापा र भीम रावलका तीन समूह छन्।

clock शनिबार २०, असोज २०८० १२:२३

प्रतिक्रिया