प्रचण्ड बझाङ जाने, तीन तहकै सरकारलाई यस्तो निर्देशन

  बिहिबार १८, असोज २०८० ११:००

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल प्रचण्ड भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ जाने भएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले बझाङको अवलोकन गर्ने बताएका हुन् । 

त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ । प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । 

उनले थप राहत र पुनः स्थापनाका लागि समन्वयात्मक रूपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिए । उनले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिए । 

प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको उल्लेख गर्दै उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, “अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देश गर्दछौँ । हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौँ ।”

clock बिहिबार १८, असोज २०८० ११:००

प्रतिक्रिया