संसदीय समितिको सभापतिका निर्वाचन शुक्रबार हुने

  आइतबार ०७, असोज २०८० १३:०७

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुका सभापतिको निर्वाचनको आगामी शुक्रबार (असोज १२) गते हुने भएको छ ।

प्रदेश सभाले आइतबार समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका प्रकाशित गरेको प्रदेश सभाका सचिव देवहादुर बोगटीले बताए । 

सभामुख भीमबहादुर भण्डारीले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताउदै आएका थिए ।

कार्यतालिका अनुसार असोज ११ गते विहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ । 

यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ । मिनी पार्लियामेन्ट मानिने संसदीय समितिहरु प्रदेश सभाको बैठक बसेको आठ महिना पुग्दा समेत सभापतिविहीन रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् । चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने व्यवस्था रहेको छ ।

clock आइतबार ०७, असोज २०८० १३:०७

प्रतिक्रिया