एमाले सुदूरपश्चिम अधिवेशनको लोगो सार्वजनिक

  आइतबार ०७, असोज २०८० १०:५३

धनगढी। नेकपा एमाले का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले असोज २१ र २२ गते हुने पहिलो प्रदेश अधिवेशनले सर्वसम्मतिले नेतृत्व छनोट गर्ने बताएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको शनिबार लागो सार्वजनिक गर्दै यस्तो बताएका हुन्। नेपालको चुच्चे नक्सा, दोधारा चाँदनीको झोलुङ्गे पुल, धार्मिक तथा पर्यटकीय क्षेत्र, तराईको खाद्यान्न भण्डार, प्रमुख नदी झल्किने गरेर पहिलो अधिवेशनको लोगो बनाइएको उनले बताए।

एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले सोही कार्यक्रममा दिएको जानकारी अनुसार सो अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने छन्। अध्यक्ष भण्डारीले ५३ हजार २५२ पार्टी सदस्यबाट झण्डै छसय प्रतिनिधि छानिने बताए। तीमध्ये १२० जनाको हाराहारीमा जनसङ्गठनबाट अप्रत्यक्षरुपमा प्रतिनिधि छानिएर आउने भएका हुन्।

सुदूरपश्चिममा असोज १५ गते अधिवेशनका प्रतिनिधि छनौट भइसक्ने अध्यक्ष भण्डारीले बताए। प्रत्यक्ष रूपमा प्रतिनिधि छान्न अन्यतर्फ १०० र दलिततर्फ ७५ बराबर एकजना प्रतिनिधि छानिने व्यवस्था छ । 

अन्यतर्फका प्रतिनिधि पालिकास्तरबाट र दलिततर्फका प्रदेश निर्वाचन क्षेत्रबाट छानिने व्यवस्था सो पार्टीले गरेको छ।यसैगरी छानिने प्रतिनिधिमा ३३ महिला र १० प्रतिशत युवा अनिवार्य गरिएको अध्यक्ष भण्डारीले बताए। अधिवेशनका लागि विभिन्न समितिहरू पनि गठन गरिएको छ।

clock आइतबार ०७, असोज २०८० १०:५३

प्रतिक्रिया