कञ्चनपुरको अर्जुनी जंगलमा कुटपिट र लुटपाट, २ जना पक्राउ

  बिहिबार ०४, असोज २०८० १६:१६

धनगढी । कञ्चनपुरको जंगलमा कुटपिट र लुटपाट भएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पूर्वपश्चिम राजमार्गमैँ कुटपिट र लुटपिट भएको हो।  घटनामा संलग्न रहेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिकाका २ युवा  पक्राउ परेका छन्। 

बुधवार साँझ जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ को अर्जुनी जंगलमा कुटपिट गरेर गरगहनासहितको धनमाल लुटपाट गर्ने वेदकोट नगरपालिका–२ दैजीका २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरी र डगौराले अर्जुनीको जंगलमा शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीका ४० वर्षीय अम्बादत्त जोशी र उनकी ३५ वर्षीय बहिनी द्रोपती जोशीलाई लुटपाट र कुटपिट गरेका हुन्। 

गड्डाचौकीबाट जर्सी गाई किनेर घरतर्फ ल्याइरहेका अम्बादत्तलाई कुटपिट गर्दै पक्राउ परेका २ जनाले द्रोपतीको ८ आनाको तिलहरी र एउटा मोबाइल लुटेर भागेका आरोप छ। 

से २ प ८३६२ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ गइरहेका दुबै जनाको कुटपिटका कारण अम्बादत्तको हात र खुट्टामा चोट लागेको छ।  उनको झलारी बजारस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भईरहेको छ।

इलाका प्रहरी कार्यालय झलारीको टोलीले मोटरसाइकलसहित चौधरी र डगौंरालार्ई पक्राउ गरेको हो। घटनाको अनुसन्धान जारी हरेको कञ्चनपुर प्रहरीले बताएको छ।

clock बिहिबार ०४, असोज २०८० १६:१६

प्रतिक्रिया