मन्त्रीको नामबाट सुदूरपश्चिममा धमाधम कर्मचारीसँग पैसा उठाउने गिरोह सक्रिय

  शनिबार ३०, भदौ २०८० २०:२३

धनगढी । सुदूरपश्चिममा मन्त्रीको सचिवालयबाट भन्दै कर्मचारीसँग पैसा उठाउने एउटा गिरोह सक्रिय भएको फेला परेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सचिवालयबाट भन्दै कर्मचारीबाट पैसा उठाउने गिरोह नै खडा भएको फेला परेको हो। मन्त्रीको सचिवालयबाट भन्दै कैलालीको भजनी नगरपालिकाका पशु सेवा प्राविधिक त्रिलोकनाथ चौधरीबाट ६ हजार ई–सेवा आईडीबाट मागेको विषय बाहिर आएको छ।

नगरपालिकाको कृषि शाखामा कार्यरत दिनेशकुमार चौधरीबाट पनि पैसा पठाउन अनुरोध गरेपछि सत्यतथ्य बुझ्न खोज्दा मन्त्रीको सचिवालयको नाममा ठगीन पुगेको रहस्य खुलेको छ। दिनेशकुमार चौधरीले पनि ई–सेवाबाटै २ हजार रुपैयाँ पठाएका थिए।
दिनेश र त्रिलोकनाथ चौधरीले मिमसरा कुमारी महतराको नाममा ई–सेवा आइडी ९८५११७३३१८ मा पैसा पठाएका हुन्।

भजनी नगरपालिकामै कार्यरत वैभव चौधरीसँग पनि पैसा मागेको तर उनी जोगिएको बताइएको छ। यसरी सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको नाममा रकम असुली गर्ने गिरोह नै सक्रिय भएको पाइएको छ। सो गिरोहले प्रदेशका विभिन्न स्थानीय तह अन्तरगतका कृषि शाखामा कार्यरत कर्मचारीहरूसँग पैसा मागिरहेको पाइएको हो।

प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीको निजी सचिवालयको नामै उल्लेख गरेर रकम असुली रहेको पाइएको छ। त्यति मात्र नभएर जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीसँग पनि सोही नम्बरबाट सोही व्यक्तिले फोन गरेर पैसा मागेको देखिएको छ।

ती व्यक्तिले लालवीर चौधरीसँग १० हजार, पशु सेवा अधिकृत नरबहादुर कार्कीसँग १५ हजार र कृषि शाखाकै चक्रप्रसाद भाटसँग ५ हजार रुपैयाँ मागेको भए पनि बुझ्दै जाँदा उनीहरु ठगिनबाट जोगिएका छन्। कसैले आफूहरूलाई ठग्न खोजेको भन्दै उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुरमा ती व्यक्तिको पहिचानसहित कारबाहीको लागि उजुरी दिएका छन्।

भदौ २४ गते इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीलाई नेपाल टेलिकमले उपलब्ध गराएको कल डिटेल अनुसार सो पोष्टपेड मोबाइल नम्बर ९८५११७३३१८ कालिकोट मुगराहारा समाला गाउँका अम्मरराज सिजुवालको नाममा दर्ता भएको खुलेको छ। तर मन्त्रीलाई भने यो विषयमा कुनै जानकारी नै छैन्। यस्तो विषय बाहिर आएपछि मन्त्री चौधरीले यस्ता ठगहरुबाट सचेत रहन आग्रह गरेका छन्।

clock शनिबार ३०, भदौ २०८० २०:२३

प्रतिक्रिया