खुटिया–दीपायल सडक निर्माण गर्न कोरिया सरकारसंग आरजुको आग्रह

  शनिबार २३, भदौ २०८० १०:५३

काठमाण्डौं । प्रतिनिधि सभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. आरजु राणा देउवा र नेपालका लागि दक्षिण कोरियाका राजदूत तेइ योङ पार्कबीच शुक्रवार भेटवार्ता भएको छ ।

दक्षिण कोरियाली राजदूत पार्कसंगको भेटमा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. राणाले दौत्य सम्बन्ध स्थापना भएयता कोरिया सरकारबाट नेपाललाई प्राप्त सहयोगका लागि धन्यवाद दिईन ।

राणाले कोरिया सरकारबाट खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माण, धनगढीमा रहेको होल्डिङ सेल्टरमा महिला तथा बालबालिकाको अस्पताल सञ्चालन र सुदूरपश्चिममा प्राबिधिक तालिम केन्द्र स्थापनाका लागि सहयोग गर्न आग्रह गरिन ।

राणाले खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लासंगको तराईको दूरी अत्यन्त छोटो हुने र त्यसले पहाडी जिल्लामा जलविद्युत आयोजना निर्माण समेत अत्यन्त सहज हुने बताईन ।

डा। राणाले सुदूर पश्चिममा महिला तथा बालबालिकाको मृत्यु दर अत्यािधक रहेकोले महिला तथा बालबालिकाको सुबिधा सम्पन्न अस्पताल सञ्चालन गर्न आवश्यक रहेको बताईन ।

उनले महिला तथा बालबालिका अस्पताल सञ्चालनका लागि धनगढीमा रहेको होल्डिङ सेल्टर उपर्युक्त रहेको जानकारी  दिईन । डा. राणाले सुदूरपश्चिममा जलविद्युत क्षेत्रमा लगानीका लागि समेत राजदूत पार्कसंग आग्रह गरिन ।

नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेकोमा डा. राणाले कोरियाली राजदूतलाई पार्कलाई बधाई दिईन । उनले राजदूत पार्कलाई सुदूर पश्चिम प्रदेश भ्रमणका लागि समेत आग्रह गरिन ।

कोरियाली राजदूत पार्कले कोरियाले दौत्य सम्बन्ध स्थापना भएयता नेपालका बिभिन्न क्षेत्रमा गरिरहेको लगानी तथा सहयोगलाई आगामि दिनमा बृद्धि गर्ने बताए ।

राजदूत पार्कले नेपालसंग कोरियाको दौत्य सम्बन्ध अत्यन्त समधुर रहेको बताउदै नेपालको विकासका लागि जलविद्युत, सेवा क्षेत्र, प्राबिधिक शिक्षा र उद्योगधन्दा र पूर्बाधारमा गर्दै आएको लगानीलाई निरन्तरता दिने बताए ।

उनले डा. राणाको आग्रहमा डिसेम्बर पहिलो साता सुदूरपश्चिमको भ्रमण गर्ने प्रतिबद्धता गरेका छन् ।

डा. राणाको आग्रह स्वीकार गर्दै राजदूत पार्कले सुदूर पश्चिमको विकासमा साझेदारी गर्न कोरिया सरकार तयार भएको बताए । उनले यसअघि कोरियाली सरकारको सहयोगमा दार्चुलामा चमेलिया जलविद्युत आयोजना निर्माण भएको बताए ।

उनले उनले नेपालमा लगानी गर्ने कोरिया चौथौ ठूलो देश भएको जानकारी दिदै नेपालको पूर्बाधार, सेवा क्षेत्र, प्राबिधिक र जलविद्युतमा सहुलियत दरमा ऋण समेत उपलब्ध गराउदै आएको बताए ।

 

clock शनिबार २३, भदौ २०८० १०:५३

प्रतिक्रिया