प्रहरीमाथि आक्रमण गरी अज्ञात समूहले लुट्यो हतियार र गोली

  शनिबार २३, भदौ २०८० १०:४२

मोरङ । सुनसरीको बर्जुगाँउपालिकामा सादा प्रहरीमाथि आक्रमण गरी अज्ञात समूहले हतियार र गोली लुटेको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विपिन रेग्मीका अनुसार विराटनगर महानगरपालिका र बर्जुगाँउपालिकाको सीमामा पर्ने शुक्रबारेमा घटना भएको हो।

इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको सादा पोशाकका प्रहरी विमल परियार, र प्रेम चौधरीलाई सूचना लिन जाने क्रममा करिब ४ जनाले एकैपटक आक्रमण गरेको प्रहरी उपरिक्षक रेग्मीको भनाइ छ।

घटना भएको क्षेत्रमा हतियारको प्रयोग गरी लुटपाट गर्नेको संख्या बढ्दै गर्दा प्रहरीले सूचना संकलन गर्न टोली परिचालन गरेको हो। यसक्रममा अज्ञात ब्यक्तिहरुले दुवै प्रहरी जवानलाई दाउरा भाटाले प्रहार गरी घाइते बनाएको उनले बताए।

घटनाका क्रममा उनीहरुले प्रहरीको साथमा रहेको चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका हुन्। घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक गजेन्द्र राय, इप्रका दुहबीबाट मोहन पोखरेल, इप्रका इटहरीबाट कैलाश चौधरीको नेतृत्वमा टोली खटाएको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए।

घटनापछि प्रहरीले हालसम्म ५ जनालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी, घटनास्थलबाट प्रहरीको टोलीले लुटिएको पेस्तोलको ६ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ।

प्रहरी जवानको साथबाट लुटिएको चाइनिज पेस्तोल फेला नपरेको बताइएको छ।

clock शनिबार २३, भदौ २०८० १०:४२

प्रतिक्रिया