कञ्चनपुरको बेलौरीमा हुलाकी सडक मर्मत र विद्युत् लाइन बिस्तारमा पनि भारतीय एसएसबीकोे अवरोध

  आइतबार १७, भदौ २०८० १४:०९

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित कालो पुलदेखि पचुइसम्मको नेपाली भूमिमा हुलाकी सडक मर्मत र विद्युत् लाइन बिस्तारमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गरेको अवरोध कायमै छ । सो क्षेत्रको करिब १७ सय मिटर हुलाकी सडकखण्डको स्तरोन्नतिमा भारतीय पक्षले विगत ३ वर्षदेखि अवरोध सृजना गर्दै आएको छ ।

जसका कारण हुलाकी सडक स्तरोन्नतिको काम हुन नसक्दा अहिले वर्षातको समयमा उक्त सडकखण्ड प्रयोगकर्ताहरुले निक्कै सास्ती खेप्नु परेको छ । अहिले हुलाकी सडकखण्डको उक्त क्षेत्रमा ठुल्ठुला खाल्डा परेर पानी जम्मा भएकोले एकातिर सो सडक प्रयोग गर्ने हजारौँ नागरिकले कष्टकर यात्रा गर्नु परिरहेको छ भने अर्कोतिर दुर्घटनाको जोखिम समेत बढेको छ ।

गलत स्ट्रिप नक्सा तयार गरी कार्यान्वयन गर्न खोज्दा बेलाबेलामा सीमा विवाद भइरहेको जनसरोकारवालाहरुको बुझाइ छ ।भारतीय पक्षको दादागिरी र हेपाहा प्रवृत्ति विरुद्ध उक्त क्षेत्रका आम नागरिक आक्रोशित छन् । नेपालको राज्य व्यवस्था नै ठिक नभएको सम्मका टिप्पणी नागरिकस्तरबाट हुने गरेका छन् ।

नेपाल सरकारको निरिहपनकै कारण अहिले कञ्चनपुर लगायत भारतसँग सीमा जोडिएका अधिकांश जिल्लाहरुमा सीमा विवाद छ । नेपाल भारतको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरु जिर्ण बन्दै गएका छन् । सीमा विवादकै कारण नयाँ स्तम्भ राख्ने काम पनि रोकिएको छ ।

नेपालतर्फ अहिले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी बढाएको छ। अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले सीमाक्षेत्रमा आउने विवाद, भारतीय पक्षबाट हुने हस्तक्षेपको मूल कारण स्ट्रिप नक्सा भएको बताए । स्ट्रिप अर्थात् धर्से नक्सा निर्माण गर्दा गम्भीर त्रुटि भएको अध्यक्ष भट्टले बताए, ‘उतिवेला नक्सा निर्माण गर्दा हाम्रो भूमि भारतमा देखाइएको छ, त्यही भएर यस्तो समस्या आएको हो। सीमा समस्या समाधान गर्न उक्त नक्सा संशोधन गर्नुपर्ने बताएका छन् ।

कञ्चनपुरका सीमामा सधैँ एसएसबीको ज्यादती, नेपाल सरकार सधैँ मौन

नेपाल-भारत सीमामा हुने भारतको सशस्त्र सीमा बल ‘एसएसबी’को ज्यादतीमा नेपाल सधैँ मौन बस्ने गरेको छ । नागरिकस्तरबाट विरोधको स्वर आएपछि ‘कूटनीतिक नोट’ लेख्ने गरे पनि भारतसँगको सीमामा हुने ज्यादतीमा नेपाल सरकारले कहिल्यै ध्यान दिन सकेको छैन ।

clock आइतबार १७, भदौ २०८० १४:०९

प्रतिक्रिया