विश्वकप छनोटमा बहराइनमाथि नेपालको शानदार जित

  शुक्रबार १५, भदौ २०८० १३:५२

काठमाडौँ । नेपालले मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले बहराइनलाई १० विकेटले हराएको हो । 

बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेपाललाई जिताउने क्रममा कबिता कुँवरले १४ बलमा १८ तथा सीता रानामगरले ३ बलमा २ रन बनाइन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा अलआउट हुँदै मात्र ३१ रन बनाएको थियो । कप्तान दीपिकाले सर्वाधिक ११ रन बनाएको इनिङ्ससलाई सस्तैमा समेट्ने क्रममा इन्दू बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिइन् ।

त्यस्तै पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १–१ विकेट लिइन् । लगातार दोस्रो जितसहित नेपाल सेमिफाइनलमा नजिक पुगेको छ ।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ ।  नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ । 

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । 

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

clock शुक्रबार १५, भदौ २०८० १३:५२

प्रतिक्रिया