आज जनैपूर्णिमा र गाईजात्रा मनाइँदै

  बिहिबार १४, भदौ २०८० ०७:४८

धनगढी । आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । यस वर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । आजकै दिन तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।

रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायकलगायत बाग्मती नदीको किनार र देशभरका मठ मन्दिरमा भक्तजनको भिड लागेको छ । तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइँदैछ ।

आज क्वाँटी खाने चलन पनि छ । चना, केराउ, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्लालगायत गेडागुडी  भिजाएर टुसा उम्रेपछि पकाएर खाइने क्वाँटीले शरीरमा शक्ति मिल्ने डाक्टरले बताउँदै आएका छन् । 

आजै प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा पर्व पनि मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिषी पण्डित सूर्यप्रसाद ढुङ्गेलले बताए ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

clock बिहिबार १४, भदौ २०८० ०७:४८

प्रतिक्रिया