भीमदत्तका पूर्व मेयर विष्टसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  मङ्गलबार १२, भदौ २०८० १५:४०

धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कन्चनपुरका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा नगरपालिकाले नियमविपरीत छुट दिएको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले राजश्व चुहावट गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार नगरप्रमुख विष्टको अध्यक्षतामा बसेको नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायसहित ५ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सिफारिसका आधारमा १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौताअनुसार राजस्व नउठाइ चुहावट गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले चुहावट भएको रकमको दोब्बर जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौं) विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्र देव भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै, आयोगले सोही कसुरमा भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि मतियारको रुपमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

clock मङ्गलबार १२, भदौ २०८० १५:४०

प्रतिक्रिया