धनगढीको स्वस्तिक अस्पतालमा ऐजनलालको मृत्यु

  सोमबार ११, भदौ २०८० १३:४०

धनगढी । धनगढीको स्वस्तिक अस्पतालमा मृगौलाको पत्थरीको शल्यक्रिया गरेका एक जनाको मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चौधरीको अस्पतालले शल्यक्रिया गरेर बाँया मृगौलामा जमेको ११ एमएम र ९ एमएमका दुई वटा स्टोन निकालेको थियो । सोही क्रममा अत्यधिक रक्तश्राव भएको थियो । रक्तश्राव नरोकिएपछि अस्पतालका जर्नल सर्जन डाक्टर जोनस तिवारीले मृतकका परिवारलाई मृगौला झिक्नुपर्ने बताएका थिए ।

मृतकका भतिजा राजकुमार चौधरीले डाक्टरले मृगौला चाहिन्छ की मान्छेको ज्यान भनेपछि आफूूहरुले मृगौला झिकेर भएपनि ज्यान जोगाइदिन आग्रह गरेको बताए तर डाक्टरले मृगौला निकालेपछि भने मृत्युको खबर सुनाएको बताउदै चौधरीले लापरवाही गरिएकाले कारवाहीको माग गरेका छन् ।

अस्पतालका सञ्चालक महेश जोशीले पत्थरीको शल्यक्रिया गर्ने क्रममा रक्तश्राव नरोकिएपछि डाक्टरले मृगौला झिकेको बताए । मृगौला झिकेपछि रक्तश्राव रोकिएपनि बिरामीको अवस्था सुधार नभएको बताउदै भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत बचाउन नसकिएको जोशीले बताए ।

clock सोमबार ११, भदौ २०८० १३:४०

प्रतिक्रिया