कोही पनि नडराएपछि पसल लुट्न आएको लुटेरा लजाउँदै फर्कियो

  सोमबार ०४, भदौ २०८० १४:०७

एजेन्सी । आमरुपमा जब कुनै पसलमा लुटपाट गर्नका लागि लुटेराहरु छिर्दछन् तब आतंक मच्चिन्छ, सन्नाटा छाउँछ र मानिसहरु डरले काँप्छन् । तर हालै अमेरिकाको एटलान्टास्थित एउटा स्टोरमा भने नितान्त फरक स्थितिको सिर्जना भयो ।

त्यहाँको एक सैलुनमा लुटपाट गर्नका लागि आएको एकजना लुटेरासँग जे भोग्यो त्यो सायद उसले सपनामा पनि सौचेको थिएन होला । उक्त स्टोरमा लुटपाटको प्रयास गर्न लुटेरा पुगेको अवस्थाको सीसीटीभी भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो हेर्दा डर लाग्ने होइन कि हाँसो उठ्छ ।

भिडियोमा उक्त नङ सैलुनमा कर्मचारीहरु केही ग्राहकहरुसँग बसिरहेका देखिन्छन् । त्यहीबेला एकजना लुटेरा चिच्याउँदै छिर्दछ अनि भन्छ, ‘सबै मानिस तल होऊ र चुपचाप पैसा देऊ।’

उसको हातमा एउटा झोला छ र त्यसमा उसले हात घुसारेको छ । झोलाभित्र रहेको बन्दुक उसले समाइरहेको जस्तो भान हुन्छ ।

लुटेराले चिच्याउँदै तथा डर देखाउँदै पैसा माग्दा समेत त्यहाँका कोही पनि मानिस डराएका छैनन् । रिसेप्सनमा भएका कर्मचारी त झनै ढुक्क देखिन्छन् र फोनको घण्टी बज्दासमेत फोन उठाउँछन्, मानौं त्यहाँ केही पनि भैरहेको छैन ।

त्यसबेला सैलुनका मालिक, कर्मचारी तथा ग्राहकहरुले त्यो लुटेरालाई यसरी बेवास्ता गर्दछन् कि जुन कल्पना पनि गर्न सकिंदैन । त्यत्तिकैमा एकजना महिलाले विस्तारै हात माथि लैजान्छिन् । लुटेराले तत्कालै उनको फोन खोस्दछ । तरपनि उनी नडराइकन पसल बाहिर जान्छिन् ।

यो बेवास्ता, निडरता तथा नजरअन्दाज यतिधेरै भयो कि लुटेरा नै लज्जित भयो र अन्ततः थाकेर खाली हात चुपचाप त्यहाँबाट बाहिरियो र कारमा भाग्यो ।

उक्त सैलुनकी नियमित ग्राहक लिजा ब्यारोका अनुसार सुरुमा सैलुनकी मालिक हल्का डराएको भए पनि ग्राहकहरु रत्तिभर नडराएका कारण लुटेरा लज्जित भएर फर्किन बाध्य भयो । 

clock सोमबार ०४, भदौ २०८० १४:०७

प्रतिक्रिया