आज साउने सक्रान्ति पर्व मनाउँदै, साँझ घर-घरमा लुतो फाल्ने चलन

  सोमबार ०१, साउन २०८० १०:२२

धनगढी । सोमबार साउने संक्रान्ति पर्व । नेपालीहरुले परम्परा अनुसार स्नान, दान र आफन्तहरु जमघट गरी यो पर्व मनाउने गर्दछन् ।

सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउने सक्रान्तिलाई रोपाईं सकेपछि मैजारो खाने दिनको रुपमा पनि लिने गरिन्छ ।


यस्तै, नेपाली समाजमा साउने सक्रान्तिको दिन साँझ घर-घरमा लुतो फाल्ने चलन पनि रहेको छ । भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टोसहित साँझ लुतो फाल्ने गरिन्छ ।

यस क्रममा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन पनि छ । असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।

महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै हरियो पोशाकमा सजिएर शिवलाई प्रसन्न पार्न सोमबारे ब्रत बस्छन् ।

साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साथै यो महिनाभर शिवजीका भक्तजनहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।

यस्तै, कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन सार्वजनिक बिदा दिइएको छ । कर्णालीमा साउने सक्रान्तिको दिनलाई देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।

clock सोमबार ०१, साउन २०८० १०:२२

प्रतिक्रिया