दार्चुलामा भारतीय सडक विस्फोटले नेपालीको घरहरुमा क्षति

  शनिबार ३०, असार २०८० १३:४०

दार्चुला। दार्चुलामा भारतीय सडक ब्लाष्टिङ (विस्फोट) का क्रममा नेपालतर्फ क्षति पुगेको छ। सडक ब्लाष्टिङका क्रममा उछिटिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका ५ मसिनीबलुवाका तीन स्थानीयका घर र गोठमा क्षति पुर्याएको हो।

नेपालतिर कुनै सूचना नदिइ बिहिवार र शुक्रवारको भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा ब्लाष्टिङले ढुङ्गा उछिटिएर नेपालका मसिनीबालुवाका स्थानीय तीन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेका अनुसार सडक ब्लास्टिङका क्रममा महाकाली नगरपालिका५ मसिनीबलुवाका स्थानीय नरभान दत्त बडूको ढुङ्गा (पाट) ले छाएको भान्सा घरमा प्वाल परेको र गोठ चर्किएको छ।

यस्तै हरक सिह ठगुन्नाको (पाट) ले छाएको घर र पानी धारोमा प्वाल परेको साथै जगत सिंह ठगुन्नाको जस्तापाताको छाना र मेवाका रुखमा सामान्य क्षती पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ब्लाष्टिङले स्थानीयका खेतमा साना ठूला ढुङ्गा छरिएका छन् ।

भारतीय पक्षले बिना सूचना ब्लाष्टिङ गरेको बुझिएको छ । विस्फोट गराएको ठाउँबाट नेपालतर्फको बस्ती दुई सय मिटरको दुरीमा छ । सडकमा विस्फोटका बारेमा नेपालतिर कुनै सूचना दिइएको छैन् । शुक्रबार दिउँसोको समयमा भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको कालिका ग्रामसभास्थित नयाँ बस्तीमा निर्माण भइरहेको छ ।

clock शनिबार ३०, असार २०८० १३:४०

प्रतिक्रिया