‘हरियाली धनगढी’ अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरुको उल्लेख्य साथ

  शनिबार ३०, असार २०८० १२:५६

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले सुरु गरेको दोस्रो चरणको ‘हरियाली धनगढी’ अभियानमा विदेशमा रहेका नेपालीहरुको साथ उल्लेख्य रुपमा बढ्न थालेको छ। उपमहानगरपालिकाले अघि सारेको हरियाली धनगढी अभियानमा विदेशमा रहेका नेपालीहरुले खुलेर सहयोग र समर्थन जनाउन थालेका छन्।

धनगढीलाई ‘ग्रिन–क्लिन’ बनाउने उमहानगरको योजना छ। यही योजनालाई सार्थक बनाउन पहिलो चरण अन्तर्गत धनगढी–अत्तरिया ६ लेन स्थित धनगढी क्षेत्रभित्रको मिडियनमा तारजालीसहित वृक्षारोपण गर्ने काम सम्पन्न गरिएको छ। मिडियनमा अहिले बोटविरुवा हुर्काउने काम भइरहेको छ। उपमहानगरपालिकाले हरियाली धनगढी अभियान अन्तर्गत पहिलो चरणको काम पुरा गरेर पुनः दोस्रो चरणको काम थालेको हो।

त्रिनगर भन्सारदेखि एयरपोर्ट ६ मिटर अघि धनगढी क्षेत्रभित्रका सडक दायाबायाँ वृक्षारोपण अभियान सार्वजनिक भएसँगै नगरवासीको जनसमर्थन त बढेको छ नै साथसाथै नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने तर वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा रहेका नेपालीहरुको यस अभियानमा बढेको समर्थन र सहयोगले उपमहानगरपलिकाले उत्साहित बनेको छ। पैसाभन्दा पनि हामीले जनसमर्थनको अपेक्षा गरेको नगरप्रमुख गोपाल हमालले बताए।

‘दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा नगरवासीको साथ त छ नै साथसाथै धनगढी बसोबास नभएका तर काम विशेषले विदेशमा रहेका नेपालीहरुको उल्लेख्य साथ धनगढीले पाएको छ।’, उनले भने ‘हामीले खोजेको जनसहभागिता हो, पैसा होइन। हामीले अघि सारेका हरेक अभियानमा नगरवासी र नगरवाहिर रहेका व्यक्ति र संघसंस्था साथ र सहयोग गर्न आतुर छन्।’

‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानमा जनसमर्थन उल्लेख्य रुपमा बढेको छ। उपमहानगरले खोजेको यही समर्थन हो न की पैसा नगरप्रमुख हमालले भने। ‘अहिले हाम्रो मुख्य उद्देश्य भनेको धनगढीको विकास गर्ने नै हो। यसका लागि योजनाबद्ध विकासको खाका नै बनाएर अघि बढेका छौँ।

अबको चार वर्षभित्र शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सहरी सौन्दर्यता लगायत नगरवासीले अनुभुति गर्ने गरी रिजल्टहरु देख्न सकिने छ।’ हामीले गर्ने हरेक काममा यहाँका स्थानीयको सहभागिता रहनेछ। साथै यसका लागि नगरवासी हर समय आतुर पनि छन्, उनले भने। हरियाली अभियानको दोस्रो चरणमा देशविदेशबाट बढेको समर्थनले धनगढीको विकास गर्ने उर्जा मिलेको उपमहानगरपालिकाका जनप्रतिनिधि बताउँछन्।

clock शनिबार ३०, असार २०८० १२:५६

प्रतिक्रिया