सुदूरपश्चिम प्रहरीको प्रदेश अनुसन्धान समूह खारेज, २ जना प्रहरीमाथि छानविन चल्दै

  शनिबार ३०, असार २०८० ०७:५५

धनगढी । नेपाल प्रहरीको सुदूूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका हुन् ।

बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाएका छन् भने आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ ।

प्रदेश प्रहरी कार्यालय स्रोतकाअनुसार बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि शुुक्रबार राति धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनले प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको पुष्टि गरे । ‘अहिलेलाई आरआइटीको औचित्य र आवश्यकता नदेखिएका कारण खारेज गरिएको हो,’ एसएसपी महर्जनले भने, ‘अपराध, अनुसन्धान लगायतका काम सम्बन्धीत ठाउँको स्थानीय प्रहरीलाई दिने व्यवस्था मिलाउने र आवश्यकता परेमा पुनः गठन गर्न सकिन्छ ।’

महर्जनले बेलौरीमा होटल सञ्चालकमाथि कुटपिट गरेको आरोप लागेका दुई जना प्रहरीमाथि छानविन भइरहेको जानकारी दिए ।  सुदूरपश्चिममा साविक सुदूूरपश्चिम विकास क्षेत्र हुँदा गठन गरिएको आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुव्र्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो ।

 

clock शनिबार ३०, असार २०८० ०७:५५

प्रतिक्रिया