धनगढीमा गर्भवती महिलामाथि कुटपिट, प्रहरीले पिडीतलाई असहयोग गरेको आरोप

  शुक्रबार २९, असार २०८० १७:३८

धनगढी । सुदूूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा घरमै प्रवेश गरेर आफुमाथि कुटपिट गरेको भन्दै कारवाहीको माग गर्दै प्रहरीलाई गुहार गर्दा उल्टै पक्राउ गरिएको खुलेको छ ।

मंगलबार राति धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलका हरिश राइन (बब्लु) को घरमा प्रवेश गरेर नेपाली नुरे जामे मस्जिद संघका अध्यक्ष ईस्माइल मुसलमानको समुहले बब्लुसहित परिवारका सदस्यलाई कुटपिट गरेको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

हरिश राइन, उनकी श्रीमती, बुहारी, छोरी र छोराले दिएको किटानी जाहेरीमा । पशुुपति टोलकै ३८ वर्षीय आलम (कुुरैसी), रिहान भनिने २२ वर्षीय मोनिष कुरैसी, अयान कुुरैसी, २२ वर्षीय नविन कुरैसीसमेतका ५० जना महिला र पुरुषको समूहले २६ गते राति ९ बजे घरमा प्रवेश गरेर कुटपिट गरेको उल्लेख गरिएको छ ।

हरिश राइनका छोरा मोहम्मद मिराज राइनले मंगलबार राति भाइ ममताज पसलबाट मच्छर धुप किन्ने क्रममा उक्त समूूहले दाईलाई ज्यान मारी गायब पार्ने धम्की दिदै गालीगलौज गर्दै आक्रमण गरेको बताए । भाई भागेर घर फर्किने क्रममा उनको पिछा गर्दै घरमै प्रवेश गरेर आमा, भाईको श्रीमती, बहिनी र आफुुलाई समेत आक्रमण गरेर कुटपिट गरेको मिराजले बताए ।

उनकाअनुसार कुटपिटबाट बुवा हरिश राइन, ४३ वर्षीया आमा सलिमा खातुन, भाइ बुहारी १९ वर्षीया अंगुरी खातुन, १६ वर्षीया बहिनी मुस्कार खातुन घाइते भएका छन् । उनीहरु कैलाली अस्पतालमा उपचार गरेर घर फर्किएका छन् । घाइते मध्येकी भाईबुहारी गर्भवती हुन् ।

घरमा आक्रमण गरेर कुटपिट गर्नेहरुलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिदा प्रहरीले सम्बन्धित आरोपीतलाई पक्राउ गर्नुको सट्टा आफ्ना बुवा र भाइलाई पक्राउ गरेर लगेको मिराजले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दुवै पक्षबाट एकअर्काविरुद्ध किटानी जाहेरी परेकाले सोही क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ भने अर्को किटानी जाहेरी परेका सबैलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याइने बताएको छ ।

कैलालीका प्रमुुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले एकअर्काविरुद्ध किटानी जाहेरी परेका कारण पक्राउ गरिएको बताए तर एक पक्षकालाई समातेर अर्कोलाई उन्मुक्ति दिने नियत भने नभएको दाबी गरे ।

घरमै प्रवेश गरेर कुुटपिट गरेको आरोप लागेको ईस्माइल मुसलमान पक्षधरसँग घटना र जाहेरीबारे जानकारी लिन प्रयास गर्दा उनीहरुसँग सम्पर्क हुुन सकेको छैन ।

clock शुक्रबार २९, असार २०८० १७:३८

प्रतिक्रिया