नेपाल-भारत जोड्ने दत्तु झोलुङ्गे पुलमा आवतजावत बन्द

  शुक्रबार २९, असार २०८० १५:५४

दार्चुला । महाकाली नगरपालिका–९ स्थित दत्तुमा रहेको नेपाल–भारत जोड्ने झोलुंगे पुलमा आवतजावत बन्द गरिएको छ । झोलुंगे पुलको लठ्ठा भाँचिने अवस्थामा रहेको र वाल पनि जीर्ण बनेकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै पुलमा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी नेपाल–भारत जोड्ने झोलुंगे पुलमा आवतजावत बन्द गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार बिहीबार साँझतिर पुलको लठ्ठा गाडेको ठाउँ भत्किने अवस्था भएको खबर प्राप्त भएको हो ।

शुक्रबार स्थानीय नागरिक र सरकारका संयन्त्रमार्फत बुझ्दा पुलको लठ्ठा भाँचिने अवस्थाको रहेको पाइएको थियो । यस्तो अवस्थामा पुलमा आवतजावत गर्दा सम्भावित जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिहानबाट आवतजावत बन्द गरिएको उनको भनाइ छ ।

भारतको धारचुला तहसिल कार्यालयसित समन्वय गरेर मर्मत सम्भार हुँदासम्म पुलमा आवतजावत बन्द गरिएको सहायक प्रजिअ धामीले बताए । उनले पुलको मर्मतका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं र स्थानीय तह एवं प्रशासनसित समन्वयका लागि पत्राचार गरिनेछ ।

clock शुक्रबार २९, असार २०८० १५:५४

प्रतिक्रिया