धनगढीको ‘हरियाली प्रवर्धन कोष’मा तीन दिनमा १३ लाख ६० हजार जम्मा

  बिहिबार २८, असार २०८० १६:०३

धनगढी । धनगढी उपमहानगरपालिकाले पहिलो चरणमा मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तीन हजार एक सय २५ वटा बिरुवा रोपेको थियो। मोहनापुल–अत्तरियामा ६ लेन सडकमा उपमहानगरपालिकासँगै भाटभटेनीसहितका संघरसंस्थालेसमेत वृक्षारोपण गरेका थिए। धनगढी उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया तिर पनि बिरुवा रोप्न थालेको छ। 

उपमहानगरपालिकाले नागरिकको सहभागितामा वृक्षारोपणको कार्यक्रम अगाडि बढाएको हो। नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार तीन दिनमा १३ लाख ६० हजार रकम संकलन भएको छ।

उनको सचिवालयले हरियाली प्रवर्धन तथा धनगढीलाई पर्यावरण मैत्री बनाउन थालिएको अभियानमा सोमवार ६ लाख ४५ हजार, मंगलवार दुई लाख ४० हजार र बुधवार चार लाख ७५ हजार रुपैयाँ संकलन भएको हो।

तीन दिनमा मात्र १३ लाख ६० हजार रकम संकलन भएको छ। बिहिवार बिहानदेखि पनि रकम संकलनको क्रम जारी छ।वृक्षारोपण कार्यक्रमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ।

एक ट्री–गार्डमा नाम राखेको उपमहानगरपालिकाले पाँच हजार रुपैया लिने गरेको छ। सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई जोडेको हो। बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाहा उपमहानगरपालिकाले गर्दै आएको छ। 

धनगढी उपमहानगरपालिकाले ‘हरियाली प्रवर्धन कोष’ स्थापना गरेको हो। यसका लागि धनगढी उपमहानगरापलिकाले बैंक खाता नम्बर ४१७०१००३०५०१०००२ समेत सार्वजनिक गरेको छ। 

clock बिहिबार २८, असार २०८० १६:०३

प्रतिक्रिया