शिअ क्वानका च्याम्पियन टिम तथा पदक विजेता खेलाडीलाई सम्मान

  सोमबार २५, असार २०८० १५:४०

धनगढी । तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता च्याम्पियन टिम तथा खेलाडीलाई धनगढीमा सम्मान गरिएको छ । नेपाल उसु महासंघ सुदूरपश्चिम प्रदेश कमिटिले च्याम्पियन टिम शिअ उसु क्वानसहित उत्कृष्ट, उदयमान तथा पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

शुक्रबार काठमाण्डौंमा सम्पन्न तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा चार स्वर्ण र सात रजत पदकसहित शिअ क्वान च्याम्पियन टिम बनेको थियो । स्वर्ण पदक पाउनेमा अलिसा खाती, अस्मिता गाहामगर, पुष्पा कुँवर र मुकेश कार्की रहेका छन भने रजत पदक पाउनेमा मन्जु धामी, सृजना रखाल मगर, सुवास बुढा, हरिचन्द्र कार्की, अलिसा खाती, पुष्पा कुँवर र दिपक चौधरी रहेका छन् र दिपिका चौधरीले काश्य पदक विजेता बनेकी थिइन् ।

प्रतियोगितामा काठमाडौँ उसु क्वान दोस्रो भएको थियो । दोस्रो भएको काठमाडौँ उसु क्वानले चार स्वर्ण र तीन रजत पदक जितेको थियो भने तेस्रो भएको निन्जा उसु क्वानले समान तीन स्वर्ण र तीन रजक पदक हात पारेको थियो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका थिए । 

यसैगरी सान्सौंको पुरुषमा काठमाडौँका निश्चल तामाङ र महिलामा शिअकी अस्मिता गाहामगर सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन भने थाउलोमा शिअका ओमप्रकाश ओली र सान्सौंमा काठमाडौँका मिलन राई उदीयमान खेलाडी घोषित भएका थिए ।

प्रतियोगितामा पदक विजेता खेलाडी तथा सहभागिलाई सम्मान गर्दै महासंघका प्रदेश अध्यक्ष दुश्यान्त बस्नेतले टीका लगाउँदै बधाई तथा आगामी दिनमा थप पदक विजेता बन्न खेलाडीलाई प्रोत्साहन गरेका थिए ।
 

clock सोमबार २५, असार २०८० १५:४०

प्रतिक्रिया