साउने सोमबारको व्रत आजदेखि सुरु

  सोमबार २५, असार २०८० ०९:३६

धनगढी । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज (सोमबार) देखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।

चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।

धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्व अध्यक्ष समेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । आज देशभरका शिव मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।

clock सोमबार २५, असार २०८० ०९:३६

प्रतिक्रिया