भजनीमा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण, आहारा व्यवस्थापनमा चुनौती

  बुधबार २०, असार २०८० ०७:१६     रासस

कैलाली । कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत भएको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएको भनिएका चौपायालाई भने निकै सकस छ ।

खाने आहारा छैन, बस्नका लागि बर्सातको समयमा ओभानो ठाउँ छैन । गौशालाको सास्तीले चराउन लगेका कैयौं चौपाया गौशाला फर्किंदैनन् । भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएका छन् । उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छन् ।

२०७४ सालदेखि त्यहीँ काममा लागेकी बोहरालाई चौपायालाई पर्याप्त आहारा नहुँदा कहिलेकाहीँ निकै चिन्ता हुन्छ । ‘दैनिक साँझ–बिहान हामी गौशालामै हुन्छौं । आफ्नो काम गर्छौं । गौशालाको अवस्था हेर्दा निकै दया लाग्छ,’ बोहरा भन्छन्, ‘खानलाई आहारा छैन । घाममा चौपायालाई बस्न छहारी छैन भने पानीमा ओत लाग्ने ठाउँ छैन ।’

बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्छिन् । गर्मीको समयमा मलमूत्र व्यवस्थापन संकलन गर्न सहज हुने गरेको भए पनि बर्षातको समयमा निकै कठिन हुने उनी बताउँछिन् । ‘काम नगरी हुँदैन । दिनभर काम गरेन भने घरमा चुलो बल्दैन,’ बिर्मादेवी भन्छिन्, ‘समयमा पाउनुपर्ने पैसा पनि पाइँदैन । जति राम्रो काम गरे पनि काम राम्रो भएन भनेर गुनासो आइरहन्छ ।’

उनले चौपायाका लागि ट्रस्ट निर्माण हुन सकेको भए चौपायालाई पनि राम्रो र त्यसबाट उत्पादन भएको मलमूत्रको व्यवस्थापनमा पनि राम्रो हुने बताइन् । सामुदायिक चौपायाको व्यवस्थापन गर्ने एउटा समिति छ । त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ ।

मलमूत्र व्यवस्थापन गर्ने र गोठाला गरी सातजना गौशालामा कार्यरत छन् । तिनको पारिश्रमिक भजनी नगरपालिकाले व्यहोर्दै आएको छ । प्रतिव्यक्ति ९ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन् । फुलराम चौधरी त्यो चौपायाको गोठालोका रूपमा १ वर्षदेखि काम गर्दै आएका छन् । चरनको भरमा बाँचेका चौपायालाई जंगलमा थेग्न निकै मुस्किल हुने गरेको उनी बताउँछन् ।

‘खानेकुरा केही छैन । भोका चौपाया चरन खोज्दै भौंतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ,’ चौधरी भन्छन्, ‘खानेकुरा भए साँझ–बिहान आहारा दिन सकेको भए चौपाया खान नपाएर मर्ने अवस्था आउने थिएन होला ।’ उनले आफूहरू ५ जना गोठाला भए पनि चौपायाको चापले समस्या हुने गरेको बताए ।

चौपायाको आहाराका लागि नगरपालिकाले २ लाख ६८ हजारको पराल खरिद गरेको थियो । त्यो पराल केही महिनामै सकियो । त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका छन् ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउँछन् । उनले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको स्वीकार गरे ।

‘गौशालामा २५० भन्दा बढी चौपाया छन् । ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो,’ देशरामले भने, ‘हाम्रो समितिमा त्यत्रो पैसा छैन । थोरैले पुग्ने अवस्था छैन । त्यहीँ चरनको विकल्पमा चौपाया बाँचेका छन् ।’ – झलनाथ खनाल/रासस

clock बुधबार २०, असार २०८० ०७:१६     रासस

प्रतिक्रिया