डडेलधुराका पाँच कबुलियत वनमा व्यवसायी टिमुर खेती सुरु

  मङ्गलबार १९, असार २०८० २१:१५

डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिका–८ का विभिन्न पाँच वटा कबुलियत वन समूहमा व्यवसायी रूपमा टिमुर खेती सुरु गरिएको छ । डिभिजन वन कार्यालय डडेल्धुराको चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमअनुसार पाँच वटा कबुलियत वन समूहको कुल साढे १२ हेक्टर क्षेत्रफलमा १७ हजार टिमुरका बिरुवा रोपिएको हो । ्

कबुलियत वन समूहमा आबद्ध उपभोक्ताहरूको आयआर्जन बढाउन र वन क्षेत्र संरक्षण सम्वद्र्धनका लागि व्यवसायी टिमुर खेती सुरु गरिएको डिभिजन वन कार्यालय डडेलधुराका डिभिजन वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिए ।

टिमुर दाल र अचारमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाड जोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिन्छ । समुन्द्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार पाँच सय मिटर उचाइमा टिमुरको खेती उत्तम मानिने डिभिजन वन कार्यालय डडेलधुराका सहायक वन अधिकृत कृष्णबहादुर बोहराले बताउनु भयो ।

पाँच वटै कबुलियत वन समूहका उपभोक्ताहरूलाई वन क्षेत्रको जमिन भागबन्डा गरेर टिमुर खेती सुरु गरिएको र आफूले टिमुर खेती गरेको क्षेत्रको टिमुर सम्बन्धित उपभोक्ता आफैले बेच्ने भएकाले उपभोक्ताहरूको आम्दानी वृद्र्धी हुने डिभिजन वन कार्यालयले जनाएको छ । 

टिमुर खेतीको लागि हिउँदमा ठन्डा र गर्मीमा न्यानो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुने प्राविधिक बताउँछन् । अन्य बालीको लागि उपयुक्त नहुने भिर पाखा बलौटे तथा पत्थरीको माटोमा यसलाई लगाउन सकिन्छ । माटोको अमलिएपन ६.५ देखि ७.० भएको बलौटे माटो यसको लागि सबैभन्दा उपयुक्त हुने गरेको छ ।
 

clock मङ्गलबार १९, असार २०८० २१:१५

प्रतिक्रिया