यू-१६ क्रिकेटमा नेपाललाई ह्याट्रिक उपाधि, मलेसिया २२१ रनले पराजित

  मङ्गलबार १९, असार २०८० १२:१३

काठमाडौँ । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक मलेसियालाई २ सय २१ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।  

नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोन कपको उपाधि जितेको हो । यसअघि नेपालले सन् २०१७ र २०१९ मा उपाधि जितेको थियो ।  

थाइल्याण्डमा भएका दुवै संस्करणअन्तर्गत नेपालले २०१७ मा सिंगापुरलाई ७२ रन र २०१९ को संस्करण फाइनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो । यसपल्ट मलेसियालाई नै हराउँदै नेपालले एसीसी यू–१६ को प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ । 

मलेसियाको भने यसपटक पनि उपाधि जित्ने सपना अधुरै रह्यो । फाइनलमा नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४।५ ओभरमा ३१ रनमै अलआउट भयो । उसका लागि मोहम्मद अकरमले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपाली कप्तान अभिषेक तिवारीले घातक बलिङ गरे । उनले ६ ओभरमा एक मेडनसहित महत्वपूर्ण ५ विकेट लिएर ७ रन मात्र दिए ।


यस्तै, सन्तोष यादवले ३, सागर गैरे र अशोक धामीले १र१ विकेट लिए ।  

त्यसअघि बायुएमास ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो । उसका लागि नरेनले ८९ बलमा १० चौका र २ छक्काको मद्दतमा अविजित ११२ रन बनाए । उनले ८२ बलमै शतक पूरा गरेका थिए । 

जारी प्रतियोगितामा शतक बनाउने नरेन पहिलो नेपाली ब्याटर हुन् । यस्तै, निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दीपु कुमारले ५, कप्तान अभिषेक तिवारीले ४, आशिष लुहारले २ र प्रतीक भट्टराईले १ रन जोडे । 

मलेसियाका लागि मोहम्मद अकरमले ७ ओभरमा ४५ रन दिएर ३ विकेट लिए । नेपाल सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल पुगेको थियो । यस्तै, मलेसियाले सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।   

clock मङ्गलबार १९, असार २०८० १२:१३

प्रतिक्रिया