“बाजुराको रानीशैन क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका बिच प्रहरी चौकी स्थापना गर्न माग”
बाजुरा । जिल्लाको पर्यटकीय तथा औषधीय महत्त्व बोकेको रानीशैन हिमाल क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । चोरी–सिकारी, अवैध जडीबुटी सङ्कलन तथा तस्करी गतिविधि तीव्र बन्दै गएपछि गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाइएको हो ।
हिमाली गाउँपालिका–३ मा पर्ने रानीसैन क्षेत्र सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील बन्दै गएको भन्दै बाजुरा हिमाली गाउँपालिकाका स्थानीय प्रतिनिधि तथा अनेरास्ववियूका नेता धर्मराज तिमिल्सेनाले गृहमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाउनुभएको छ ।
उहाँले बुझाएको ज्ञापन पत्रमा रानीसैन क्षेत्रमा प्रहरी संरचना नहुँदा स्थानीय जनजीवन, सार्वजनिक शान्ति–सुरक्षा, सामाजिक स्थिरता तथा विकास–निर्माणका गतिविधि प्रत्यक्ष प्रभावित भएको उल्लेख छ । भौगोलिक रूपमा दुर्गम र पहुँच न्यून भएको क्षेत्र सुरक्षा अवलोकनको दृष्टिले पछाडि परेको जनाइएको छ ।
रानीसैन हिमाली तथा उच्च औषधिय मूल्यका जडीबुटीहरूको प्रमुख स्रोत मानिन्छ । तर पछिल्लो समय अनियन्त्रित दोहन, अवैध सङ्कलन, तस्करी समूहको सक्रियता, वन तथा जैविक स्रोतको क्षति र प्रशासन एवम् सुरक्षाको कमजोर उपस्थिति जस्ता समस्या गम्भीर बन्दै गएको स्थानीय तह तथा सरोकारवालाहरूले बताएका छन् ।
राष्ट्रिय सम्पदामा जोखिम, राजस्व ह्रास, वातावरणीय स्थायित्वमा नकारात्मक असर तथा स्थानीय अर्थतन्त्र कमजोर बन्दै गएको परिस्थितिलाई नियन्त्रण गर्न तत्काल प्रहरी चौकी स्थापना अपरिहार्य भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया