घाँसको त्यान्द्रोमा गइरहेको छ ज्यान
बैतडी । ग्रामीण क्षेत्रका महिला घाँसको त्यान्द्राका लागि भिरबाट लडेर अकालमै ज्यान गुमाउनेको सङ्ख्या दिनदिनै वृद्धि हुँदै गइरहेको छ । ‘प्रविधिको सही प्रयोग गरौँ स् महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित यो वर्ष सहरी क्षेत्र र पालिका केन्द्रमा महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला यसरी ज्यान जानेको सङ्ख्या बाहिर आएको छ ।
घाँस काट्ने क्रममा बैतडीमा मात्रै गएको चार वर्षमा ६७ महिलाले ज्यान गुमाइसकेका छन् । यसरी काम गर्ने महिलालाई न जीवन बिमाबारे थाहा छ न त घाँस काट्न सुरक्षित डोरी नै पाएका छन् ।
गत बुधबार सुर्नया गाउँपालिका–८, सेलाकी ३१ वर्षीय पार्वती साउदको बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु भएको छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । पार्वतीको मृत्युपछि दुई बालबच्चा टुहुरा बनेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार गएको चार वर्षमा जिल्लाका विभिन्न ठाउँमा ६७ जना महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बलवेद बडूले आव २०७८/७९ देखि २०८१/८२ सम्म ६७ महिलाको भिरबाट लडेर मृत्यु भएको बताउनुभयो । तथ्याङ्क अनुसार आव २०७८/७९ मा १६ जना, आव २०७९/८० मा २१ जना, आव २०८०/८१ मा १३ जना, आव २०८१/८२ मा १४ जना र चालु आवको साउनदेखि कात्तिकसम्म तीन जनाको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा बैतडीमा बर्सेनि भिरबाट लडेर महिलाको अकालमै मृत्यु हुने गरेको प्रही निरीक्षक बडूले बताउनुभयो । कृषिमा आत्मनिर्भर बैतडीका ग्रामीण क्षेत्रमा खर काट्ने काम महिलाले गर्दै आइरहेका छन् । अधिकांश पुरुष कामको खोजीमा विदेश जाने गरेका छन्, महिलाको दिनचर्या हँसिया र नाम्लो बोकेर दिनभरि कठिन भिरमा चढेर घाँसका त्यान्द्रा काट्दै पशु आहारा जुटाउनमै बित्ने गरेको छ ।
महिलालाई सुरक्षाका उपाय र लडिहाले ज्यान बचाउन सकिने सुरक्षित डोरी जस्ता कुनै पनि उपकरण साथमा हुँदैनन् । महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाले पनि नाराबाहेक कुनै सहयोग गर्न सकेका छैनन् । अकालमै ज्यान गुमाउने महिलाको न जीवन बिमा हुन्छ न त घाइतेको कतैबाट औषधी उपचार हुने गरेको छ । भिरबाट लडेर ज्यान गुमाउने परिवारलाई स्थानीय सरकारले कुनै क्षतिपूर्ति र घाइतेलाई औषधी उपचारको व्यवस्था नभएको ग्रामीण महिला ईश्वरी महराले गुनासो गर्नुभयो । श्रमिक महिलाबारे गाउँमा कुनै पनि कार्यक्रम सञ्चालन नभएको उहाँको गुनासो छ ।
स्थानीय सरकारका उपप्रमुखले पनि सोचेको जस्तो काम गर्न नपाएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष शकुन्तला साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “शिवनाथमा मात्रै गएको दुई वर्षमा तीन महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जीवन बिमा र सुरक्षित डोरी वितरण गर्न एक जना उपप्रमुखले मात्रै चाहेर सम्भव छैन । यो विषयमा छलफल र अन्तर्क्रिया गर्न महिला अधिकारका क्षेत्रमा काम गर्ने कुनै पनि संस्था पालिकामा आएका छैनन् ।”
प्रतिक्रिया