सुदूरपश्चिम महोत्सव आजबाट, अर्थमन्त्रीले उद्घाटन गर्नु हुने
धनगढी । कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव आज देखि सुरु हुदैछ ।
यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले संघले १९ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो । मङ्सिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले जानकारी दिएको छ ।
करिब तीन करोड रुपियाँ लगानीमा आयोजना गरिरहेको महोत्सवमा १५ करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने संघका अध्यक्ष पुस्करराज ओझाले बताए । उनले सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने उल्लेख गरे ।
महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्नु हुने संघले जानकारी दिएको छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोेमोबाइल्स, इलेक्ट्रोनिकल, होटल, सूचना प्रविधिलगायतको गरेर ५०० वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा प्रवेशका लागि तोकिएको टिकटबाट उठेको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष ओझाले बताए । नेपाल उद्योग वाणिज्य महासंघ तथा महासंघको सुदूरपश्चिम प्रदेश संरक्षकको भूमिकामा रहेकाले महोत्सव संस्थागत रूपमा अझ मजबुत भएको आयोजकले जनाएको छ। समग्र सुदूरपश्चिमको साझा उत्सवका रूपमा महोत्सवलाई सफल बनाउन २३ उपसमिति गठन गरी तयारीका अधिकांश काम सकिएको अध्यक्ष ओझाले जानकारी दिए।
पत्रकार, राजनीतिकदल, सरकारी–गैरसरकारी संस्था, विद्यार्थी, उद्यमी, व्यवसायी तथा सर्वसाधारण सबैलाई सहभागिता जनाई महोत्सव सफल बनाउन आयोजकले आह्वान गरेको छ। महोस्वको भोलि अर्थमन्त्री रामेश्वर खनालले उद्धाटन गर्ने कार्यक्रम छ। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया