सुरक्षाविहीन बन्यो चीनसँगको तिंकर भञ्ज्याङ नाका
दार्चुला । सीमा सुरक्षा र निगरानीका लागि खटिएका सुरक्षाकर्मी चिसो छल्न छाङ्गरु झरेपछि तिंकर क्षेत्र सुरक्षाविहीन भएको छ । तिंकर गाउँका स्थानीय बेँसी झरेपछि सुरक्षाकर्मीहरूले पनि मंसिरको पहिलो साता उक्त क्षेत्र छाडेका हुन् । तिंकर नजिकको छियालेकमा इलाका प्रहरी कार्यालय तिंकर र दुई वर्षअघि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएका थिए ।तिंकर गाउँबाट करिब अढाईदेखि तीन किलोमिटर माथिल्लो क्षेत्रमा रहेका सुरक्षा पोस्टमा रहेका सुरक्षाकर्मीहरु व्यास गाउँपालिका–१ कै छाङ्गरु झरेका हुन् ।
तिंकरमा अत्यधिक चिसो भएपछि वैशाखरजेठतिर फर्कने गरी छाङ्गरुमा रहेको सीतापुल प्रहरी चौकीमा सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी गौरव महतले बताए । अत्यधिक चिसोले तिंकरमा पानी जमेर खानेपानीको समस्या हुन्छ । दाउरा पनि पाइने र चिसोलाई सहने गरी संरचना नभएकाले चिसोको मौसममा तिंकरमा बस्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
दुवै सुरक्षाकर्मी तल झरेपछि अहिले चीनसँगको तिंकर भञ्ज्याङ १ नम्बर पिल्लर नाका सुरक्षाविहीन रहेको छ । प्रहरीहरू छाङ्गरु र सीतापुलमा बस्ने गरेका छन् । सुरक्षाकर्मी बाह्रै महिना बस्न सक्ने किसिमको भौतिक पूर्वाधार अभावमा मंसिरदेखि वैशाखसम्म तिंकर क्षेत्र सुरक्षाविहीन हुने भएको छ । विगतमा पनि मंसिरपछि उक्त क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति हुँदैन ।
‘अहिले छाङ्गरुको तापक्रम माइनसमा हुन्छ । तिंकरमा झन् त्योभन्दा कम हुन्छ,’ सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरुका डीएसपी फणीन्द्रबहादुर शाहीले भने, ‘रातिको समयमा माइनस १५ डिग्री तापक्रम हुने गर्छ, यस्तो ठाउँमा बस्ने हामीसँग बसोबास न संरचना छ, न त सामान नै छ ।’ वैशाखमा तिंकर बीओपीमा जाने गरी अहिले छाङ्गरुमा खटिएको छ । यहाबाट हामी तिंकर क्षेत्रमा गस्तीमा जाने उनको भनाइ छ ।
त्रिदेशीय सीमा क्षेत्रको सुरक्षार्थ व्यास क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । छाङ्गरुबाट नै कालापानी, दोपखे, राकाङसम्म नियमित गस्ती जाने गरेको उनले बताए । तिंकरको माथिल्लो क्षेत्रमा जान समस्या हुन्छ । तर, एक दिनमा फर्कने गरी गस्ती गरिरहने डीएसपी शाहीको भनाइ छ । चिसोमा खाने र बस्ने समस्याले हिउँदमा एक दिनमा फर्कने गरी व्यास क्षेत्रको सम्पूर्ण भूभागमा गस्तीमा जानुपर्ने बाध्यता रहेको छ ।
सामरिक महत्वको भूभाग भएकाले त्रिदेशीय सीमा क्षेत्र व्यासमा राज्यले १२ महिना बस्न, गस्तीमा जान पाइने मौसमअनुकूलको पोशाक र संरचना बनाउनु आवश्यक रहेको तिंकरका स्थानीय दानसिह तिंकरी ९क्षेत्रपाल० ले बताए । राज्यले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न तथा बाह्य राष्ट्रको हस्तक्षेप रोक्न भौतिक पूर्वाधारको उचित व्यवस्थापन गरी बाह्रै महिना सुरक्षाकर्मी परिचालन गर्न सक्नुपर्नेमा यहाँका स्थानीयले जोड दिएका छन् । तिंकर क्षेत्रमा मंसिरदेखि चैत्र महिनासम्म ५ देखि ७ फुटसम्म हिउँ जम्छ ।
प्रतिक्रिया