कैलालीमा एकैदिन सात योजना शिलान्यास, मुख्यमन्त्रीले भने - चुनावी बाचा पूरा गर्दैछु
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बहुवर्षीय स्रोत सहमति पाएर ठेक्का लगाइएका सात योजना शिलान्यास गरेका छन् । मुख्यमन्त्री शाहले गतअसारमा ठेक्का लागेर निर्माण कार्य प्रारम्भ भइसकेका पाँच वटा सडक र दुई वटा पुलको योजना शिलान्यास गरेका हुन् । ति सात वटासहित २४ वटा योजनाहरु २०८२ असार मसान्तसम्म कार्यान्वयन सुरु गर्ने गरी आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २०८१ फागुन २९ गते बहुवर्षीय आयोजनाको स्रोत सहमति दिएको थियो ।
पूर्वाधार विकास कार्यालय कैलालीका सूचना अधिकारी ईञ्जिनियर सूर्यप्रकाश जोशीले कतिपय निर्माण कम्पनीहरुले साउनबाटै काम सुरु गरेको भए पनि औपचारिक शिलान्यास मात्रै ढिलो भएको बताए । ‘दुबै पुलमा निर्माण कम्पनीहरुले नै डिजाइन गर्नुपर्ने गरी सम्झौता भएको हुँदा पुलको डिजाइन गरी स्वीकृत गराइएको छ,’ उनले भने, ‘पुल निर्माण गर्ने ठेकेदारहरुले डिजाइन गर्ने काम सकेर त्यसबापतको बिल भुक्तानी पनि लिइसकेका छन् । पुल निर्माणको काम अब सुरु हुन्छ । सडकतर्फ १०र१५ प्रतिशत काम भइसकेको छ । सडकको स्ट्रक्चरको काम भइसकेका छन् । कतिपयले यसै आर्थिक वर्षभित्रै काम सक्ने गरी सम्झौता भएको छ ।’
प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय कैलालीलाई १४ वटा सडक र ९ वटा पुलको योजनामा बहुवर्षीय स्रोत सहमती दिएको थियो । ति मध्ये सबै योजनाको ठेक्का सम्झौता भएपनि गतवर्ष मोबिलाइलाजेसन निकासा बाहेकको खर्च हुन सकेको थिएन । असारमा सम्झौता भएपछि गतआर्थिक वर्षमा विनियोजन भएको बजेटबाट पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरुलाई ठेक्का अंकको १० देखि २० प्रतिशत रकम मोविलाइजेशन निकासा दिएको थियो ।
मुख्यमन्त्री शाहले लम्कीचुहा नगरपालिकामा चार वटा सडक र मोहन्याल गाउँपालिकामा दुई वटा पुल र एउटा सडकको शिलान्यास गरेका छन् । छ करोड नौ लाख २१ हजार रुपैयाँमा केएएस–अपी–श्रीपुर जेभीले ठेक्का लिएको टीकापुर–जानकी–लम्कीचुहा जोडने टीकापुर–डुडेझारी सडक खण्डको साढे तीन किलोमिटर खण्ड कालोपत्रे हुने छ ।
यसैगरी, मुख्यमन्त्री शाहले पूर्वपश्चिम राजमार्गबाट रानी जमरा जलविद्यतु, जगतपुर हुँदै टीकापुर जोडने केशरमार्गको पनि शिलान्यास गरेका छन् । पाँच करोड ६२ लाख ६६ हजार ४७८ रुपैयाँमा एससी, एसएनएस, एचबी भेजीले ठेक्का लिएको सो सडकको २.७ किलोमिटर खण्ड कालोपत्रे हुने छ ।
लम्कीचुहा नगरपालिकादेखि मोहन्याल गाउँपालिकाको पर्यटकीय क्षेत्र राजकाँडासम्म सडकको २.६ किलोमिटर खण्ड निर्माणका लागि एससी, एसएनएस, एचबी भेजीले नै ठेक्का लिएको छ । चार करोड ५६ लाख ९३ हजार ४४१ रुपैयाँमा सम्झौता भएको ठेक्का निर्माणको अवधि समेत २०८३ पुस २५ गतेसम्म तोकिएको छ ।
अमौरा, थापापुर, चौरी, चाकावाणी हुँदै सेती राजमार्ग जोडने लम्कीचुहा रिङरोडको २.७ किलोमिटर सडक नालीसहितको लागि चार करोड ३६ लाख ६४ हजार ५३० रुपैयाँमा तुलसी–निराजन जेभीले ठेक्का लिएको छ । सो सडक आउँदो असार २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
पूर्वतयारी नगरेरै बजेट विनियोजन गरिएका योजनाहरुको पूर्वतयारी गर्न समय लागेको हुँदा २०८१ फागुनमा बहुवर्षीय ठेक्का सहमति पाएका योजनाहरु २०८२ मंसिर लागेपछि निर्माण सुरु गरिदैछ । योजनाको स्वीकृत डिजाइन, ड्रइङ्ग तथा लागत अनुमान तयार गरिसकेपछि आयोजना बैंकमा राखेर सो योजनालाई वार्षिक विकास कार्यक्रममा समावेश गर्ने र आगामी वर्षको वार्षिक कार्यक्रममा समावेश गरी बजेट विनियोजन गर्ने व्यवस्था छ ।
तर, राजनीतिक दलका नेता, मुख्यमन्त्री, मन्त्री र सांसद्को दवावमा कुनै पनि तयारी नगरिएको योजनामा बजेट विनियोजन गरी एकवर्षमै नसकिने योजना भए बहुवर्षीय ठेक्का सहमती लिएर मात्रै पूर्वतयारी गर्ने प्रवृत्तिका कारण योजनाहरुको निर्माणको सुरुवात नै ढिलो हुने गरेको छ भने निर्माण कम्पनीहरुले ढिलो निर्माण शुरु गरेकै कारणले पनि समयमा ठेक्का सम्पन्न नगर्ने प्रवृत्ति बढेको छ ।
सडक र पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले चुनावका समयमा जनतासँग गरेका वाचा अनुरूप विकासका कार्यलाई तीव्रता दिएको बताए । आफ्नो क्षेत्रका जनताको वर्षौँदेखिको आवश्यकता सडक तथा पुलको अभावलाई समाधान गर्न प्रदेश सरकारले दृढ प्रयास थालेको उनले बताए ।
प्रतिक्रिया