पाँच वर्षमा सुदूरपश्चिममा एड्सबाट तीन सय पचासको मृत्यु

  बिहिबार १८, मङि्सर २०८२ ११:१५

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला पाँच वर्षमा एचआइभी र एड्सबाट ३५२ जनाको ज्यान गएको छ । तुलनात्मक अध्ययनले हरेक वर्ष मृत्यु हुनेको सङ्ख्यामा कमी आइरहेको भए पनि सन् २०३० सम्ममा एचआइभी र एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा नहुने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले संसारभर सन् २०३० सम्ममा एचआइभीरएड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।  

सुदूरपश्चिममा आव २०७७/७८ मा ८२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा कमी आएको देखिन्छ २०७८/०७९ मा ७९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो भने आव २०७९/८० मा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको छ । 

यस्तै गरेर आव २०८०/८१ मा यो सङ्ख्यामा कमी आएन । सो आवमा पनि ६४ जनाको मृत्यु भएको थियो । त्यस्तै गरेर आव २०८१/८२ मा एचआइभीकै कारण ६३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनुको कारण एचआइभी मात्र नभई बहुआयामिक रोग पनि कारण हो, स्वास्थ्यकर्मी बताउँछन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमका अनुसार एचआइभी सङ्क्रमितमा निमोनिया, डाइबेटिज, दमलगायत अन्य नसर्ने रोग लाग्दा मृत्यु हुने गरेका छन् ।

समयमै सङ्क्रमित उपचारको दायरामा आउने र नियमित औषधी सेवन गरेमा मृत्युको जोखिमबाट बचाउन सकिन्छ, उहाँले भन्नुभयो, “कुनै समय एचआइभीर एड्सलाई प्राणघात रोगका रूपमा हेरिने गरेको थियो । यसको औषधी निर्माण भएपछि अहिले बिरामीको व्यवस्थापन भइरहेको छ ।”

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह छन् । जसमध्ये छ स्थानीय तहमा एचआइभी सङ्क्रमित शून्य छ । प्रदेशभर सबैभन्दा बढी सङ्क्रमित कैलालीको गोदावरी नगरपालिकामा रहेको निर्देशनालयले जनाएको छ । गोदावरीमा २९१ एचआइभी सङ्क्रमित छन् भने दोस्रोमा धनगढी उपमहानगरपालिका रहेको छ । निर्देशनालयका अनुसार धनगढीमा २४४ जना एचआइभी सङ्क्रमित रहेका छन् । पाँच वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिममा एचआइभी सङ्क्रमितको सङ्ख्या प्रत्येक आव कहिले घट्ने त कहिले बढ्ने गरेको देखिन्छ । आव २०८०/८१ मा २१८ रहेकोमा आव २०८१/८२ मा सङ्क्रमितको सङ्ख्या १८१ पुगेको छ । त्यसअघि आव २०७७/७८ मा २१५ सङ्क्रमित रहेकोमा आव २०७८/७९ मा वृद्धि भएर ३२५ जना पुगेको थियो । आव २०७९/८० मा सङ्क्रमितको सङ्ख्या २५२ थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार आव २०८१/८२ सम्ममा सबैभन्दा बढी कैलालीमा एक हजार ७४० र सबैभन्दा कम दार्चुलामा ५० जना सङ्क्रमित छन् । कैलालीपछि सबैभन्दा बढी एचआइभी सङ्क्रमित अछाममा ५७० जना छन् । तराईको अर्को जिल्ला कञ्चनपुरमा ४५५ जना उपचाररत छन् । यस्तै डोटीमा ४९०, बाजुरामा ७२, बझाङमा ९६, बैतडीमा १३२ र डडेलधुरामा १२५ जना उपचाररत छन्  ।

blog

clock बिहिबार १८, मङि्सर २०८२ ११:१५

प्रतिक्रिया