एमाले परित्यागको घोषणा गरेका पञ्चेश्वरका अध्यक्षले भने-पार्टीमै क्रियाशिल रहन्छु
धनगढी । ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउदै नेकपा एमाले परित्यागको घोषणा गरेका बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पुनः पार्टीकै क्रियाशिल रहने बताएका छन् ।
चन्दले १३ मंसिरमा भएको प्रतिनिधि चयनमा एकलौटी र गुटबन्दी गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी परित्याग गरेको बताएका थिए । तर, बुधबार फेरि सामाजिक सञ्जालमार्फत नै उनले प्रतिनिधि चयनमा विमती भएर हतार हतार एमाले परित्याग गरेको लेख्न पुगेको भन्दै नेताहरुसँगको लामो छलफलपछि पुनः एमाले पार्टीमै क्रियाशिल रहने निर्णय गरेको उल्लेख गरेका छन् ।
‘नेकपा ९एमाले० ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा मेरो बिमती भइ एमाले पार्टी परित्याग गरिएको विषय हतार हतारमा सामाजिक स्ञ्जालमा पोष्ट गरिएको सन्दर्भमा पार्टीका जिम्मेवार नेतृत्वहरु क्रमशः नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा निवर्तमान मुख्य मन्त्री माननिय राजेन्द्र रावल केन्द्रीय सदस्य तथा निवर्तमान उद्योग मन्त्री माननिय दामोदर भण्डारी सुदूरपश्चिमप्रदेश सरकारका भैतिक पूर्वाधार मन्त्री माननिय सुरेन्द्र पाल योजना आयोगका माननिय सदस्य डा हिरा चन्द लगायत जिम्मेवार नेता कमरेड साथीहरू सँगको लामो छलफल गहन समिक्षा पश्चात् उहाँहरुको आग्रमा साकारात्मक निष्कर्षका साथ नेकपा एमाले पार्टीमा क्रियाशिल रहने निर्णय लिएकोछु,’ चन्दले लेखेका छन् ।
चन्द नेकपा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा २०७४ र २०७९ मा निर्वाचित भइसकेका छन् । महाधिवेशन प्रतिनिधि जान इच्छुक रहेका उनले आफू छनोटमा नपरेपछि पार्टी परित्यागको घोषणा गरेका थिए ।
प्रतिक्रिया