महेन्द्रनगरमा बनेको पशु वधशाला प्रयोगविहीन

  बिहिबार १८, मङि्सर २०८२ ०७:३२

बेलौरी (कञ्चनपुर) । महेन्द्रनगरमा निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन बनेको छ । विसं २०७२ मा भीमदत्त नगरपालिकाले झन्डै एक करोड १० लाख रुपियाँको लागतमा महेन्द्रनगरस्थित सब्जीमन्डीमा निर्माण गरेको सो वधशाला व्यवसायमैत्री नहुँदा प्रयोगविहीन बनेको हो । 

वधशालामा कुखुरा र खसीका लागि छुट्टाछुट्टै दुई वटा ब्लक निर्माण गरिएको छ । मासु व्यवसायीले भने उक्त वधशालामा काम गर्न असहज भएको गुनासो गरेका छन् । सब्जीमन्डीमा खसीको व्यवसाय गर्दै आउनुभएका मासु व्यवसायी रामसिंह भण्डारीले वधशाला व्यवसायमैत्री नभएकाले प्रयोग गर्न असहज भएको बताए । सो वधशालामा तीन वर्षपहिले मासु कट्न सुरु गरिए पनि असहज हुँदा काम गर्न नसकिएको उनले बताए । 

व्यवसायीका लागि भवनभित्र कुखुरा, खसी काटेर मासु तयार भएपछि पसलमा लगी बेच्न सक्ने गरेर वधशाला निर्माण गरिएको थियो । कुखुरा र खसी पसले भने वधशालामा मासु तयार गरिए पनि पसलसम्म पु¥याउन ढुवानीको समेत व्यवस्था नगरिँदा समस्या भएको बताउँछन् । 

निर्माण भएको तीन वर्षपछि सो वधशाला सञ्चालनमा ल्याइएको थियो । वधशालामा पानी जम्ने, स्थान अभावलगायतका समस्या  हुन थालेपछि प्रयोग गर्न छोडेको व्यवसायी बताउँछन् । सब्जीमन्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सुनारले आधुनिक प्रविधिबाट निर्माण गरिएको भनिएको सो वधशाला मासु व्यवसायीका लागि भने उपयुक्त नभएको बताए । मासु व्यवसायीलाई आवश्यक पर्ने स्थान अभाव र फोहोर व्यवस्थापन नहुँदा भाडा तिरेर खर्च मात्रै हुने गरेको उनले बताए । 

मासु व्यवसायीका लागि मासु काट्दा छुट्टै कोठाको व्यवस्था गरिनुपर्ने, पानी निकासको उचित व्यवस्था गरिनुपर्नेमा निर्माण गरिएको संरचना भने आफूहरूका लागि अनुचित भएको उनले बताए । भीमदत्त नगरपालिकाले भने सो वधशाला सञ्चालनमा ल्याउनका लागि निश्चित मापदण्ड नबनाइँदा समस्या भएको जनाएको छ । पालिकाका सूचना अधिकारी हरिसिंह धामीले वधशाला सञ्चालनका लागि व्यवसायीसँग छलफल गरिए पनि व्यवसायीले नरुचाउँदा सञ्चालनमा समस्या भएको बताए ।

महेन्द्रनगर बजारस्थित चार किल्लालाई मध्यनजर गर्दै निर्माण गरिएको सो वधशालामा अत्याधुनिक उपकरणसमेत जडान गरिएको छ । 

क्षेत्रीय पशु सेवा निर्देशनालय डोटीले ५० लाख र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, महेन्द्रनगरले २० लाख बराबरको उपकरण जडान गरेका थिए । हाल ती उपकरणमा समेत खिया लागेर काम नलाग्ने बनेको नगरपालिकाका सबइन्जिनियर पवन लेखकले बताए । 

   

clock बिहिबार १८, मङि्सर २०८२ ०७:३२

प्रतिक्रिया