सुदूरपश्चिमबाट को बन्लान एमाले युवा केन्द्रीय सदस्य ?

  बिहिबार १८, मङि्सर २०८२ ०६:३१

धनगढी। नेकपा एमालेको ११औँ केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र विभिन्न पदका लागि राजनीतिक लबिङ तीव्र बनेको छ। विशेषगरी यसपटक एमालेले केन्द्रीय समितिमा युवाका लागि छुट्टै कोटा सुनिश्चित गर्ने तयारी गरेपछि देशभरका युवा नेताहरू केन्द्रीय सदस्य बन्न आ–आफ्नो प्रभाव विस्तार गर्न सक्रिय देखिएका छन्। 

यही क्रममा सुदूरपश्चिम प्रदेशबाट समेत केही युवा नेताहरू केन्द्रीय सदस्यका प्रबल दावेदारका रूपमा अगाडि आएका छन्। २७ देखि २९ मंसिरसम्म आयोजना हुने महाधिवेशनका लागि एमालेले देशैभरिबाट प्रतिनिधि चयन गरिसकेको छ। अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ भने केही जिल्लामा मात्र प्रक्रिया बाँकी रहेको छ। 

मंसिर १३ गते चयन भएका युवा क्लस्टरका महाधिवेशन प्रतिनिधिहरूलाई अब सम्भावित केन्द्रीय सदस्यका रूपमा हेरिन थालिएको छ। यसपटक एमालेले आफ्नै भातृ संगठन अनेरास्ववियुमा उमेरहद लागू गरेपछि अध्यक्षका आकांक्षी रहेका धेरै विद्यार्थी नेताहरू मूलधारको भूगोलको राजनीतिमा सक्रिय भएका छन्। 

यही क्रममा अनेरास्ववियुका तत्कालीन उपाध्यक्ष गोविन्द गिरी उमेरहदका कारण संगठनबाट बाहिरिएपछि बैतडी जिल्लाबाट ४० वर्षमुनिको युवा क्लस्टरमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। गिरी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् र अहिले केन्द्रीय सदस्यका लागि बलियो दावेदारका रूपमा देखिन थालेका छन्। 

यस्तै अनेरास्ववियुका तत्कालीन महासचिव नरेश रोकाया बाजुराबाट युवा उमेर समूहबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। विद्यार्थी राजनीतिमा लामो योगदान दिएका रोकाया पनि यस पटकको महाधिवेशनबाट केन्द्रीय समितिमा पुग्ने लक्ष्यका साथ सक्रिय रूपमा लबिङमा जुटेका छन्।


सुदूरपश्चिमको कैलाली क्षेत्र नम्बर ५ बाट युवा क्लस्टरतर्फ निर्वाचित महाधिवेशन प्रतिनिधि तीर्थ भट्टराई पनि सम्भावित केन्द्रीय सदस्यका रूपमा चर्चामा छन्। प्रवास कमिटीमार्फत लामो समय पार्टी संगठनमा सक्रिय रहेका भट्टराई पछिल्लो समय भूगोलमा फर्किएर संगठन विस्तारमा लागिरहेका छन्। हाल उनी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा धनगढी उपमहानगर कमिटीका सह–इन्चार्जसमेत हुन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको लाइनमा सधैँ खुला समर्थन गर्दै आएका भट्टराई अध्यक्ष ओलीको रोजाइमा पर्न सक्ने सम्भावना रहेको बताइन्छ। यि सगैं युवा प्रतिनिधि चुनिएका अधिकाशं नेताहरु केन्द्रिय सदस्य बन्न दौडधुपमा छन् । पार्टीभित्र युवालाई नेतृत्वमा ल्याउने नीतिअनुसार यसपटक केन्द्रीय समितिमा उल्लेख्य संख्यामा नयाँ अनुहार प्रवेश गर्ने सम्भावनासमेत देखिएको छ। 

यसले सुदूरपश्चिमका युवा नेताहरूमा थप उत्साह र प्रतिस्पर्धा बढाएको छ। यद्यपि, अन्तिम सूची महाधिवेशनको बन्दसत्रबाट तय हुने भएकाले अहिले लबिङको राजनीतिक गतिविधि झनै चर्किँदै गएको देखिन्छ। सुदूरपश्चिमबाट को–को केन्द्रीय समितिमा पुग्नेछन् भन्ने विषयले अहिले प्रदेशको राजनीतिक वृत्तमा चासो र उत्सुकता दुबै बढाएको छ।

clock बिहिबार १८, मङि्सर २०८२ ०६:३१

प्रतिक्रिया