सुदूरपश्चिम प्रदेशमा विभिन्न क्षेत्रलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिने
धनगढी। सुदूरपश्चिम प्रदेशमा विभिन्न क्षेत्रलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने गृहकार्य सुरु भएको छ । यसअघि नेपालको गण्डकी र लुम्बिनी क्षेत्रलाई विश्वमै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको थियो । अब दोस्रो पटक सुदूरपश्चिममा गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिने नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का परियोजना अधिकृत भूपाल नेपालीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडी कोरीडोर, खुटिया नदी क्षेत्रलगायतमा गिद्धको उपस्थिति राम्रो रहेको छ । यिनै क्षेत्रलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ ।
सेटेलाइट ट्याग गरी वातावरणमा छोडिएका गिद्धहरू तुलनात्मक रूपले अन्यभन्दा बाँच्ने औसतदर बढी, डाक्लोफेनेकका कारण गिद्धको मृत्युवरण नभएको र औषधीको सर्वेक्षण गर्दा डाक्लोफेनेक नभेटिएको आदि मापदण्डका आधारमा गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिने बिसिएनले जनाएको छ । वातावरणमा गिद्ध सुरक्षित भएकाले गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्न थालिएको सो संस्थाका फिल्ड अफिसर हिरूलाल डङ्गौराले बताए ।
गिद्ध संरक्षणका लागि सुदूरपश्चिम प्रदेशमा गिद्ध सचेतना कार्यक्रम, गिद्धको अनुसन्धान, भेटेरिनरी औषधी अनुगमन, गिद्धमा स्याटेलाइट जडान, गिद्धको गुँड अनुगमनलगायतका कार्य हुँदै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका १५ डङ्गर गिद्ध र चार सानो खैरो गरी १९ गिद्धमा सेटेलाइट जडान गरिएको छ । सेटेलाइट जडान गरिएका गिद्धहरूको नियमित अनुगमन गर्ने गरिएको छ ।
बिसिएनका अनुसार कञ्चनपुर र डडेलधुरामा गिद्धको गुँड बढ्दो क्रममा छ भने कैलालीमा घटिरहेको छ । पशुचौपायामा प्रयोग गरिएको डाक्लोफेनेक नामक औषधीका कारण गिद्ध मरेर लोप हुने अवस्थामा पुगेका थिए । डाक्लोफेनेकका कारण गिद्ध मरेपछि नेपालमा २०६३ देखि डाक्लोफेनेक उत्पादन, बिक्रीवितरण र आयातमा बन्देज गरिएको छ । डाक्लोफेनेक प्रयोग गरेमा तीन वर्ष कैद वा २५ हजार रुपियाँ जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
यसैबिच गिद्ध सुरक्षित क्षेत्र घोषणाको तयारीस्वरूप गिद्धका लागि सुरक्षित र विषाक्त औषधी तथा नेपालमा गिद्ध संरक्षणको शुद्धीकरण विषयक कार्यशाला गरिएको छ । कार्यक्रममा प्रदेश पशु निर्देशनालयका मुख्य पशु चिकित्सक डा. विनोदबहादुर कठायतले पशुचौपायामा अत्यधिक र अनियन्त्रित रूपमा एन्टिबायोटिकको प्रयोग ठुलो चुनौतीका रूपमा रहेको बताए ।
उनले एन्टिबायोटिक कम प्रयोग गर्न आग्रह गरे । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले गिद्धलाई मान्छेले हेला गर्ने गरे पनि गिद्ध अत्यन्त महìवपूर्ण पन्छी रहेको बताए । ११ हजार डलर पैसा बराबरको सरसफाइ एउटा गिद्धले गर्ने गरेको भन्दै उनले जीवनशैली परिवर्तन गरेर पर्यावरणप्रेमी बन्न जरुरी रहेको बताए । बिसिएनद्वारा आयोजना गरिएको गोष्ठीमा परियोजना अधिकृत नेपालीले गिद्ध संरक्षण र पर्यावरण बचाउनका लागि गिद्ध सुरक्षित क्षेत्र बनाइने बताए ।
प्रतिक्रिया