कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट दिउँसै १ सय ३९ रुख गायब
बेलौरी (कञ्चनपुर) । कञ्चनपुरमा एकै पटक १३९ रुख काटेर गायब पारिएको छ । कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैध रूपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् । गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा ती रुख कटान गरेर गायब पारिएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको हो ।
सामुदायिक वनबाट ११६ खयरका रुख, २२ सिसम र एक कन्जुगरेर १३९ रुख काटेर गायब गरिएको सबडिभिजन वन कार्यालय पिपरैयाले जनाएको छ । नजिकै रहेको वडा कार्यालय भवनअगाडिका झन्डै १० बिघामा रहेको जङ्गलबाट त्यति मात्रामा रुख काटेर गायब गरिए पनि जनप्रतिनिधिले समेत वास्ता नगरेको सो कार्यालयका प्रमुख मनिदत्त भट्टले आरोप लगाए ।
रुख कटान गरिएपछि सामुदायिक वनलाई पत्राचार गरेर सोधपुछको काम भइरहेको उनले बताए । यस विषयमा डिभिजन वन कार्यालय कञ्चनपुरमा प्रतिवेदन बुझाइएको उनले बताए । यद्यपि रुख कटानमा संलग्न व्यक्तिको पहिचान भने भइनसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले बताए ।
यहाँको कार्की टोलका ६०–७० जना स्थानीयको समूहले ती रुख काटेर दाउरामा प्रयोग गरेको खुल्नमा आएको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताए । यहाँका स्थानीयले सो क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न आवश्यक रुख कटान गर्नुपर्ने भएपछि ती रुख काटेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसीले बताए ।
कजेज भवन निर्माणका लागि यसअघि मङ्सिर १ गते कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानासँग कोरियाली संस्थाका प्रतिनिधिले गौरीघाट वनक्षेत्रमा स्थलगत अनुगमन गरेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसीले बताए ।
यद्यपि सो कलेजका लागि भने पाँच बिघा जमिनसमेत अलग स्थानमा रहेको उनले बताए । रुख कटान गरिएपछि डिभिजन वन कार्यालयका प्रमुख डिसीको नेतृत्वमा सोमबार सो क्षेत्रमा स्थलगत निरीक्षण गरिएको थियो ।
जनप्रतिनिधिलाई सोधपुछ
गौरीघाट सामुदायिक वनमा अवैध तरिकारले रुख काटेको विषयमा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानामाथि सोधपुछ भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
नगरप्रमुख ओझा र वडाध्यक्ष रानामाथि सोमबारदेखि नियमित रूपमा सोधपुछ भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताए । उनीहरूले सो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएको प्रमुख डिसीले बताए ।
वडाध्यक्ष रानाले भने ती रुख कटानको विषयमा आफूलाई पूर्वजानकारी नगराइएको दाबी गरे । सो क्षेत्रमा निर्माण गरिने कलेजको अन्य कामका लागि अझै छरसात बिघा जमिन अपुग देखिँदा ती रुखहरू काटिएको हुन सक्ने उनले बताए ।
छानबिनमा खटिए अनुसन्धान अधिकृत
गौरीघाट सामुदायिक वनमा अवैध तरिकाले काटिएको रुखबारेमा अनुसन्धान गर्न सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहलाई खटाइएको छ । डिभिजन वन कार्यालयले मङ्गलबार साहलाई अनुसन्धानका लागि खटाइएको जनाइएको छ ।
प्रमुख साहले सो सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गरिएको विषयमा आफूलाई पूर्वजानकारी नभएको र अनुसन्धानपछि मात्र केही बताउन सकिने बताए ।
प्रतिक्रिया