गहुँबारीमा चौलो छाला नृत्यसँगै ठाडो खेल
डडेल्धुरा । विलुप्त हुन लागेको सुदूरपश्चिमको मौलिक कला संस्कृति हो ठाडो खेल । देवीदेवताको बखान, राजा रजौटा, वीर पुरुषको गाथा र उहाँहरूको मायाप्रेमको कथालाई समेत ठाडो भाकामा गीत गाउँदै गोलबद्ध भएर पैतला अघिपछि सार्दै दायाँबायाँ घुमेर हल्का बसे जस्तो गरेर ठाडो खेल खेलिन्छ । खेल भनिए पनि यो खेलकुद नभई डोट्याली भाषाको कला संस्कृति हो । ठाडो खेलमा ढुस्को, चैत र धुमारी पर्दछन् तर हाल ठाडो खेल गाउँका केही कुना कन्दरामा मात्रै सीमित बनेको छ ।
सुदूरपश्चिमको चर्चित डेउडातर्फ संसारभर रहेका नेपालीलगायत अन्य पनि आकर्षित भइरहेको छ तर ठाडो खेल भने लोप हुने अवस्थामै पुगेको छ । ठाडो खेललाई यहाँका देउताका विभिन्न पर्वमा ग्रामीण भेगका बुढापाका गाउँलेले मात्रै मनाइने गरेको देख्न पाइन्छ । डेउडा र छाला नृत्य भने नयाँ नयाँ प्रविधिमासमेत उछाल मच्याई नै रहेका छन् । डेउडा भाकामा ¥यापसमेत मिसाई प्रविधि र आधुनिक जमानामैत्री बनाइँदा ठाडो खेल विलुप्त हुने अवस्था छ ।
देवताको राजधानीका रूपमा लिइने नवदुर्गा गाउँपालिका–५, चमागड क्षेत्रमा समैजी, सिगास, कैलपाल देउतालगायत माता भगवतीको मन्दिर रहेका छन् । यी सबै देवताको पूजाआजामा दाइनदमाह, ¥याली, रुइसिङ बाजाका धुनमा सुदूरपश्चिमको मौलिक कला, संस्कृति छाला, छलिया नृत्यको चौलोसँगै ठाडो खेल पनि हुने गरेका छन् । बुढापाकाले मात्रै खेल्ने गरेको ठाडो खेलमा युवा सहभागिता हुन नसक्दा अबका केही वर्षमै लोप हुने अवस्थामा छ ।
चमागडको समैजी मन्दिरमा मङ्सिर महिनाको दशमी तिथिमा भव्य रूपमा वार्षिक मेला लाग्छ । यसअघि सप्तमीको दिन भगवती मन्दिरमा एक पाला पूजा गरी दोस्रो दिन सिगास मन्दिरमा पूजा र तेस्रो दिन समैजी मन्दिरमा राति धम्यौली ९देउताका धामी काप्ने० चौलोसहित रतेडी मनाउने गर्दछन् । दशमीका दिन दिनभर छालासहित चौलो, ठाडो खेल ९ढुस्को, चैत, धुमारी० खेलेर बेलुकी समैजी देवताको मुख्य वासस्थान रहेको चमागाड खोलानजिकको थपनामा विशेष पूजाआजा गरेर भोजन ग्रहणपश्चात् पूजा सम्पन्न हुने प्रचलन रहेको समैजी देवताका पुजारी ज्योतिष ब्राह्मण तपराज अवस्थीले जानकारी दिनुभयो ।
पुर्खाको पालादेखि आस्थाको धरोहरका रूपमा विराजमान समैजीलगायत अरू देउताको दशमी तिथिका दिन हुने मुख्य मेला गाउँको पाखो जमिनमा गरिएको गहुँबाली खेतीबारीमा हुने गरेको छ । हजारौँ मानिस सहभागी हुने भेलाको मुख्य चौलो छाला नृत्य र ठाडो खेल गहुँ लगाइएको बारीमै हुन्छ । पाखो बारीमा कात्तिक महिनामा छरिएका ठुला गह्रामा उम्रिएको ससाना गहँुका बिरुवा फाँडिएर पूरै धुलाम्मे हुने गरेको छ तर यसै गह्रामा सबैभन्दा बढी गहुँ उत्पादन हुने जनविश्वास अहिले पनि प्रमाणित हुने गरेको पुजारी अवस्थीले बताउनुभयो । देवताकै शक्तिले फाँडिएको गहुँबालीले राम्रो उत्पादन दिने जनविश्वास हाल पनि प्रमाणित भइरहेको उहाँको भनाइ छ ।
यहाँ मात्रै नभई वडा नम्बर ४ सिरोडको भुवा, वडा नम्बर ३ को चेल्पीगाउँमा रहेको नवदुर्गा माताको मेला पनि गहुँबारीमै हुने गरेका छन् । यी तीन वटै गाउँमा सिँचाइको व्यवस्था नहुँदा आकासे पानीको भरमा खेतीपाती हुँदै आएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले भन्नुभयो, “चौलो, ठाडो खेल र गाँज नचाइने यी तीन वटै ठाउँका गह्रामा गरिएको गहुँबाली खेती मेलाका दिन पूर्ण रूपमा फाँडिए पनि सबैभन्दा राम्रो फसल लिन सकिन्छ । यो देउताको शक्ति नभएर के हो त रु यस कारण पनि यहाँका स्थानीयमा देउताप्रतिको आस्था झनै बढिरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया