स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रियकरण गर्दै सुदूरपश्चिम महोत्सव
कैलाली । २०६३ सालमा कैलाली महोत्सव आयोजना हुँदा देशभरि औलामा गणना हुने महोत्सवहरू आयोजना भएका थिए । कैलाली महोत्सव अहिले सुदूरपश्चिम महोत्सव भएको छ । देशभरि सयौँ महोत्सव आयोजना भइरहेका छन् । तर, कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने गरेको सुदूरपश्चिम महोत्सव अहिले पनि पर्वझैँ लाग्छ ।
महोत्सवको १९ औँ संस्करण आगामी २२ गतेबाट सुरु हुँदै छ । महोत्सवको तीव्र तयारी भइरहेको छ । यस वर्ष पनि अघिल्ला वर्षजस्तै उत्सवको रूपमा महोत्सव आयोजना गर्ने तयारी भइरहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।
उनले यस पटक अघिल्लो वर्ष भन्दा अझै भव्य र आकर्षक हुने बताए । स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रिय स्तरमा पुराउन महोत्सवले ठुलो भूमिका खेल्ने उनको भनाइ थियो।
‘हामी महोत्सवको अन्तिम तयारीमा छौँ । यस पटक स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई बढी महत्त्व दिएका छौँ ’ उनले भने ‘यो महोत्सव सुदूरपश्चिमको पर्व हो । हामी वार्षिक उत्सव र पर्वझैँ मनाउने तयारीमा छौँ ।’

महोत्सवमा ५५० बढी स्टलहरू रहने छन् । ती मध्ये अधिकांश स्थानीय उत्पादन र घरेलु उद्योगलाई प्राथमिकता दिइएको महासचिव समेत रहेका महोत्सव प्रवक्ता दिनेश लम्सालले जानकारी दिए ।
सांस्कृतिक प्रस्तुति, कृषि तथा उद्योग प्रदर्शनी, महिला तथा युवाका उद्यम स्टल, विविध प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम रहने उनको भनाई छ । साथै बालबालिकाका लागि खेलकुद क्षेत्र, कृषि प्रविधि प्रदर्शन र घरेलु उत्पादनहरूको बिक्री समेत हुने उनले बताए।
‘अहिले सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूलाई पहिलो प्राथमिकता दिएका छौँ । स्थानीय स्टलका लागि छुट दिएका छौँ । घरेलु तथा कृषि उत्पादनको ५० स्टलहरू निःशुल्क छन् । स्थानीय परिकार र जाति विशेषको परिकारको लागि पनि निःशुल्क व्यवस्था गरेका छौँ’ उनले भने, ‘यस पटकको महोत्सव स्थानीय उत्पादनको प्रदर्शन र व्यापार दुवै ढङ्गले महत्त्वपूर्ण रहेको छ ।’

प्रदेशको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवर्द्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए। उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।
अघिल्ला प्रत्येक वर्षहरूमा सरकार प्रमुख वा राष्ट्र प्रमुखबाट महोत्सवको उद्घाटन हुने गरेको थियो । अहिले उद्योगी व्यवसायीहरूलाई प्राथमिकतामा राखेर अर्थमन्त्री वा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्षबाट उद्घाटनको तयारी भइरहेको छ ।
महोत्सवमा १५ करोड बढीको कारोबार हुने सचिव प्रकाश चन्दले बताए । ७ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । ‘अघिल्लो वर्ष एकै दिन १ लाखले महोत्सव हेरेका छन् । यस पटक त्यो भन्दा अझै भव्य छ ’ कलाकार तथा युवा परिचालन समितिका संयोजक चन्द भन्छन् ‘अहिले सुदूरपश्चिमका अधिकांश कलाकारहरूको प्रस्तुति रहने छ ।’
वृद्ध तथा शारीरिक अशक्तता भएकाहरूलाई महोत्सवमा निःशुल्क अवलोकनको व्यवस्था गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घसँग आबद्ध भएका व्यापारीले पनि निःशुल्क अवलोकन गर्न पाउने छन् भने विद्यार्थी ,खेलाडीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकटबाट केही रकम छुट्टाएर सामाजिक काममा पनि खर्च गरिने सचिव चन्दले बताए ।
शालीन आन्दोलनको माध्यम बनेको महोत्सव
राष्ट्रप्रमुख तथा नेतृत्वलाई महोत्सव उद्घाटनमा बोलाएर आफ्ना मागका बुँदा अनुसार फूलमाला बोकाउने सुदूरपश्चिमीलीको आन्दोलनले १८ वर्ष पार गरेको छ । महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै साङ्केतिक माला बोकाउने आन्दोलन सुरु भएको थियो ।
अहिलेसम्म पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड , शेरबहादुर देउवा, बाबुराम भट्टराई, पूर्वराष्ट्रपति डा। रामवरण यादव, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेता भीम रावल, नारदमुनि राना, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतलाई उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमको विकास र संवृद्धिका लागि माग राखिसकेको छ ।

‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको पहिलो संस्करणमा २१ बुँदे माग राख्दै तत्कालीन प्रधानमन्त्री देउवालाई २१ किलोग्रामको माला बोकाइएको थियो । ती २१ मागमध्ये सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रङ्गशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाइ भइसकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रदेशसभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्रे तथा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउने बुँदाहरू आंशिकरुपमा सरकारले सुनुवाइ गरेको र अहिले केही मात्रामा भए पनि अन्य माग पनि सम्बोधनका चरणमा रहेकाले यसपालि पनि उद्योग वाणिज्य सङ्घले माग सम्बोधनको लागि आग्रह गर्ने जनाएको छ ।
अहिले गौरिफण्टा नाकाको स्तरोन्नति गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रशोधन केन्द्र, शीतगृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लामा पक्की सडक, सूचना प्रविधि, बह्मदेव सडक, चिसापानीदेखि गड्डाचौकीसम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शनी स्थल, नेपाल टेलिभिजनको प्रसारण केन्द्र र सुदूरपश्चिम सांस्कृतिक सङ्ग्रहालयलगायतका मागहरू पुरा गर्न सरकारसँग उद्योग वाणिज्य सङ्घले सरकारसँग आग्रह गर्ने छ ।
पहिले सुदूरपश्चिमको विकासका लागि केन्द्रलाई ताक्नुपर्ने बाध्यता थियो अब भने सुदूरपश्चिम प्रदेश सरकारसँगै ८८ वटा स्थानीय सरकार छन् । सबैसँग समन्वय गरेर तीनै तहको सरकारले प्रदेशको विकासमा भूमिका खेल्न उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले आग्रह गरेका छन् । ‘हामी सुदूरपश्चिमलाई सुन्दर पश्चिम भएको हेर्न चाहन्छौ यहाँ प्रचुर सम्भावना छ तर, विकास हुन सकिरहेको छैन’ उनले भने ‘तीनै तहको सरकार सुदूरपश्चिमको विकास र संवृद्धिमा एकताबद्ध भएर हाम्रो माग सम्बोधन गरिदिन आग्रह गर्दछौँ । ’
प्रतिक्रिया