तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने गृहमन्त्री अर्यालको दाबी

  मङ्गलबार १६, मङि्सर २०८२ १०:४४

कैलाली । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गर्नु भएको छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका हुन् । यो सरकारले मुख्य जिम्मेवारी सुशासन कायम गर्न र निर्वाचन गर्न पाएको गृहमन्त्री अर्यालले निष्पक्ष, भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुने बताउनु भयो ।  

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भएको बताए । राजनीतिक दललाई पनि निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन वर्तमान सरकार सक्रिय भएको मन्त्री अर्यालको दाबी थियो ।  

गोष्ठीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले देशलाई ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प नभएको बताउनु भयो । फागुन २१ गतेको निर्वाचन नहुनुको विकल्प नभएको मुख्यमन्त्री शाहले सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनु भयो 

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताउनु भयो । पार्टीका गतिविधिमा अवरोध भइरहेको बताउदै मन्त्री सार्कीले गृह मन्त्रालयले राजनीति दलहरुसंग सम्बाद गर्न आवश्यक रहेको बताउनु भयो ।

सुरक्षा गोष्ठीमा उद्घाटन सत्र सकिएसंगै बन्द सत्र सुरु भएको छ । दोस्रो सत्रको सुरुवातमा जिल्लागत प्रदेशगत सुरक्षा चुनौतीबारे प्रस्तुतिकरण भइरहेको छ । गृह मन्त्रालयका तर्फबाट सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको प्रस्तुति हुनेछ ।

त्यसपछि सुरक्षा निकायका प्रमुखहरु, प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिलामन्त्री सार्की, मुख्यमन्त्री शाह र गृहमन्त्री अर्यालको मन्तव्यपछि गृहसचिव दंगालले कार्यक्रम समापन गर्ने कार्यक्रम छ ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरु, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल हुने बताइएको छ । गोष्ठीमा फागुण २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुने छ ।

गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि सहभागी छन् । 

clock मङ्गलबार १६, मङि्सर २०८२ १०:४४

प्रतिक्रिया