कञ्चनपुरका एघार विद्यालय समायोजनसँगै तह मिलान
कञ्चनपुर । विद्यार्थी नियमित रूपमा घट्दै गएपछि यहाँका ११ सामुदायिक विद्यालय समायोजन गरिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका अनुसार, हालसम्म जिल्लामा ११ सामुदायिक विद्यालय समायोजन गरिएका हुन् भने झन्डै तीन दर्जन विद्यालयमा तह मिलानको प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिकामा चार वटा आधारभूत विद्यालय समायोजन गरिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका अनुसार, शुक्लाफाँटा नगरपालिका–१२ स्थित मिलन आधारभूत विद्यालयनजिकैको शिव शक्ति माध्यमिक विद्यालय कालागौडीमा समायोजन गरिएको छ । यसै गरेर वडा नम्बर १२ स्थित सरस्वती आधारभूत विद्यालय सिद्धनाथ आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।
वडा नम्बर १० स्थित त्रिमूर्ति आधारभूत विद्यालयलाई कृष्ण माध्यमिक विद्यालयमा र वडा नम्बर ७ स्थित शान्ति आधारभूत विद्यालयनजिकैको धर्मजनता माध्यमिक विद्यालयमा समायोजन भएको हो । विद्यार्थी घट्न थालेपछि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुरूप यी विद्यालय समायोजन गरिएको शुक्लाफाँटा नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद भट्टले बताउनुभयो ।
उहाँका अनुसार, दुई विद्यालयमा भने तह मिलान गरिएको छ । वडा नम्बर १ स्थित जनचेतना आधारभूत विद्यालय र वडा नम्बर ७ स्थित भवानी आविमा तह मिलान गरिएको हो । यी दुई विद्यालय यसअघि कक्षा ५ सम्म सञ्चालनमा रहेकोमा हाल कक्षा तीनसम्म मात्रै सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख भट्टले बताउनुभयो । यसै गरेर भवानी आविमा विद्यार्थी न्यून भएपछि आगामी आवमा समायोजनका लागि प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।
यसै गरी कृष्णपुर नगरपालिकामा रहेका चार आधारभूत विद्यालय पनि समायोजन गरिएका छन् । वडा नम्बर ६ स्थित बालमुक्ति आधारभूत विद्यालयनजिकैको महाकाली माध्यमिक विद्यालयमा, वडा नम्बर ५ स्थित वनदेवी आवि सयपत्र आविमा समायोजन गरिएका छन् । यसै गरेर वडा नम्बर २ स्थित सत्यवादी आवि उदय माविमा र वडा नम्बर ४ स्थित सिद्धनाथ आधारभूत विद्यालय किचाइ पनि नजिकैको समैजी माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । विद्यार्थी नै नभएपछि यहाँका चार विद्यालय समायोजन गर्नु परेको कृष्णपुर नगरपालिकाको शिक्षा शाखाले बताएको छ । हाल कृष्णपुर नगरपालिकामा ३१ सामुदायिक विद्यालय रहेका छन् ।
जिल्लाको वेदकोट नगरपालिकामा रहेका दुई आधारभूत विद्यालय पनि समायोजन गरिएका छन् । यहाँको शान्ति प्राथमिक विद्यालयलाई शारदा माध्यमिक विद्यालयमा र शिव प्राथमिक विद्यालयनजिकैको शान्ति निकेतन आविमा समायोजन गरिएको छ । वेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज भट्टले विद्यार्थी न्यून भएपछि समायोजन गरिएको बताउनुभयो । यसै गरेर वेदकोटमा दुई विद्यालयको तह मिलानको प्रक्रिया अगाडि बढाइएको शाखा प्रमुख भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाले हाल एक आधारभूत विद्यालय समायोजन गरेको छ । पालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले यहाँको महामाया आवि हाल भानु माविमा समायोजन गरिएको बताउनुभयो । हाल २२ सामुदायिक विद्यालय रहेका दोधारा चाँदनीमा दुई विद्यालयमा भने तह मिलानको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।
यहाँको लालझाँडी गाउँपालिकाले ५० जनाभन्दा विद्यार्थी रहेका विद्यालयको समायोजनको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । पालिकाका शिक्षा शाखा प्रमुख सिद्दराज भट्टले हाल दुई सामुदायिक विद्यालय समायोजनको प्रक्रियामा रहेको बताउनुभयो । ३२ सामुदायिक विद्यालय रहेका पुनर्वास नगरपालिकाले विद्यालयको तह मिलानको काम भइरहेको जनाएको छ । शिक्षा शाखा प्रमुख शिवराज भट्टका अनुसार कक्षा आठसम्म सञ्चालनमा रहेका दुई सामुदायिक विद्यालयलाई ६ कक्षासम्म, कक्षा ७ सम्म सञ्चालन भइरहेका तीन विद्यालयलाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । यसैगरेर यहाँको बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशी अनुसार कक्षा ८ सम्म सञ्चालनमा रहेका वडा नम्बर १ स्थित सिद्दनाथ आधारभूत विद्यालय, वडा नम्बर २ स्थित शैलेश्वरी आधारभूत विद्यालय र राधाकृष्ण जनप्रिय आधारभूत विद्यालयको तह मिलान गरिएको छ । ती विद्यालय हाल कक्षा ५ सम्म मात्रै सञ्चालनमा रहेका छन् ।
यसै गरेर कक्षा ५ सम्म सञ्चालनमा रहेका तीन विद्यालयको पनि तह मिलान गरिएको शिक्षा शाखा प्रमुख जोशीले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ५, झिलमिलास्थित कालिका आधारभूत विद्यालय, वडा नम्बर २ स्थित त्रिशूली आधारभूत विद्यालय र सोही वडामा रहेको कञ्चन आधारभूत विद्यालयलाई कक्षा ३ सम्म झारिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या क्रमशः घट्दै गएपछि विद्यालयको तह मिलान गर्नु परेको पालिकाले जनाएको हो ।
५७ सामुदायिक विद्यालय रहेका भीमदत्त नगरपालिकामा झन्डै तीन दर्जन विद्यालय समायोजन र तह मिलानको प्रक्रियामा रहेका जनाइएको छ । पालिकाका शिक्षा शाखा अधिकृत हरिदत्त जोशीले यहाँका १८ देखि २० सामुदायिक विद्यालयको समायोजन र तह मिलान गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । हाल केही विद्यालयमा विद्यालय व्यवस्थापन समितिले नमान्दा समस्या देखिएकाले जसका लागि सबै पक्षसँग वार्ता भइरहेको उहाँले बताउनुभयो । यहाँको बेलौरी नगरपालिकाले एक दर्जन विद्यालयको समायोजन र तह मिलानका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ । कञ्चनपुरस्थित सामुदायिक विद्यालयमा विद्यार्थी निरन्तर रूपमा घट्दै गएको छ । संस्थागत विद्यालयमा आकर्षण बढ्नु तथा प्रजनन दरसमेत घट्दै जाँदा सामुदायिक विद्यालय रित्तिने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
प्रतिक्रिया