अचारबाट मनग्य आम्दानी गर्दै बाजुराका खाती
बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–४, खातीगाउँका कृष्णबहादुर खातीले पछिल्लो समय अचारबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ ।
गाउँमै उत्पादन भएको अकबरे खुर्सानी, मुला, कागती र लोकल कुखुराको मासुको अचार बनाएर जिल्लाका विभिन्न ठाउँमा बिक्री गर्दै आएपछि उहाँले पछिल्लो समय अचारबाट नै मनग्य आम्दानी गर्न थाल्नुभएको हो ।
“म २०–२२ प्रकारका अचार बनाउँछु । अचार मसाला, चिया मसाला पनि बनाउँछु । हिजो मात्र बाम्का बजारमा एकै पटक नौ हजारको अचार बिक्री गरें” बुढीगङ्गा नगरपालिका –४ खाती गाउँका कृष्णबहादुर खातीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा मात्र होइन, अहिले मेरो अचार काठमाडौँमा समेत माग हुनेगरेको छ । यहाँका स्थानीय प्रायः धेरै काठमाडौँमा बसोवास गर्दैआएका छन् । उहाँहरूले यहाँको स्थानीय उत्पादनबाट बनेको अचार निकै मन पराउँछन् । त्यसैले उनीहरूले यतिबेला मैलो बनाएको अचारको माग गरेका हुन् ।”
खाती एक असल कृषक हुन । गाउँमै विभिन्न प्रकारका तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले कागती, चुक इमिलो, आँप, मुला र अकबरे खुर्सानी लसुन, धनियाँ उत्पादन गर्नुहुन्छ, उहाँले भन्नुभयो ।
सहरको अचारभन्दा मैले गाउँमा बनाएको अचार स्वास्थ्यका लागि समेत उत्तम रहेको छ । त्यसैले अहिले बजारको अचारभन्दा मैले बनाएको गाउँको अचार सबैमो जिब्रो झुण्डिने गरेकाले सहरदेखि मेरो अचारको माग हुने गरेको छ । आफुले अचार बिक्री गर्दै वर्षको एक लाख बचत गर्दै आएको खातीले बताउनुभयो ।
प्रतिक्रिया