कैलाली कारागारबाट भागेका २ सय ३८ जना अझै फर्किएनन्

  मङ्गलबार ०९, मङि्सर २०८२ ०७:२६

धनगढी । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २ सय ३८ जना अझै फरार रहेका छन्। कारागारबाट भागेका ६ सय ६५ जना कैदीमध्ये ४ सय २७ जना फर्किए पनि अन्य भने फर्किएका छैनन्।

फरार रहेका कैदीमध्ये सबैभन्दा बढी लागू औषध र जघन्य अपराधका कैदी रहेको जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिएका छन्। उनका अनुसार फरारमध्ये १९ जना भारतीय नागरिक, १८ जना महिला र २ सय १ जना पुरुष रहेका छन्।

गृह मन्त्रालयले फरार रहेका कैदी पक्राउ गर्न कार्यदल नै गठन गरेपनि देशभरका कारागारबाट भागेका सबै कैदी फर्किसकेका छैनन्। दशैं तिहारको बेला नफर्किए पनि अहिले कैदीहरू लगातार फर्किरहेको जेलर सापकोटा बताउँछन्।

भारतसँग खुला सिमाना रहेको कैलालीबाट कैदीहरू भाग्न नपाउन भनेर भारतमा पनि पत्राचार भइसकेको उनले जानकारी दिए । “फरार कैदी नेपालबाट भारत भाग्न चाहे भने पक्राउ परिहाल्छ। हामीले पत्राचार गरिसकेका छौं । दशैं तिहार ताका नफर्किए पनि अहिले कैदीहरु फर्किरहेका छन्।” उनले भने ।

clock मङ्गलबार ०९, मङि्सर २०८२ ०७:२६

प्रतिक्रिया