बैतडीका टेकसिंह सात वर्षदेखि पहाडी उत्पादन घरदैलोमा पुर्‍याउँदै

  सोमबार ०८, मङि्सर २०८२ १०:०८

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ देउलेखका टेकसिंह कार्कीले पहाडी उत्पादन खरिद गरेर बिक्री गर्न थालेको सात वर्ष भयो। सात वर्ष अगाडि कार्कीले बैतडी र दार्चुलाबाट स्थानीय उत्पादन खरिद गर्ने र कैलाली तथा कञ्चनपुरका सहरी क्षेत्रमा ल्याएर बिक्री गर्न थालेका हुन्।

सात वर्ष अगाडि टेकसिंह आफ्नै बारीको २५ डोका सुन्तला लिएर धनगढी आएका थिए। उनले त्यो सुन्तला दस दिन लगाएर बिक्री गरेको सुनाए। उक्त सुन्तला बिक्रीबाट २५ हजार आम्दानी भएको बताउने कार्कीले त्यसपछि नै पहाडी उत्पादन ल्याएर तराईमा बिक्री गर्न थालेको बताए। "सात वर्ष अगाडि आफ्नै बारीको २५ डोका सुन्तला लिएर धनगढी आएको हुँ। त्यो बेला सबै सुन्तला बिक्री गर्न दस दिन लाग्यो। सुन्तला बिक्रीबाट २५ हजार आम्दानी भयो," उनले भने, "त्यसपछि नै मैले अन्य पहाडी उत्पादन पनि बिक्री गर्नुपर्छ भन्ने सोच बनाएर यो काम सुरू गरेको हुँ।"

घरघरमै पुगेर सामान बिक्री
सात वर्षदेखि धनगढी, अत्तरिया, झलारी र महेन्द्रनगरका घरघरमा पुगेर कार्कीले पहाडी फलफूल, मह, अचार र गेडागुडी बिक्री गर्दै आएका छन्। उनले आफ्ना ग्राहकले फोन गरेरै सामान मगाउने गरेको बताए। "मेरा ग्रहकहरूले मलाई राम्रो मान्नुहुन्छ। उहाँहरूले फोन गर्नुहुन्छ र मैले घरमै समान पुगाउने गरेको छु। मेला महोत्सवमा पनि स्टल राख्ने गरेको छु," उनले भने, "यो काम गर्दा आनन्द लाग्छ।  विदेश जानुभन्दा यो काम गर्नु नै राम्रो लाग्यो।"

कार्कीले अचार बनाएर बिक्री गर्दै आएका छन्। उनले मिक्स, आँप, अमला, किबी,लप्सी, मुला, डल्ले खुर्सानी, लसुन र अदुवाको अचार घरमै बनाएर बिक्री गर्दै आएका छन्। उनले साढे तीन सयदेखि ६ सय रुपैयाँ किलोग्रामका दरले अचार बिक्री हुने गरेको बताए।

यस्तै,मिक्स मसला, चिया मसला, डोका, छाप्रा, नाङ्लो, फलफूल दाल,घ्यू मह, सुन्तला, ओखर, मौसमी, चुक, किबी लगायतका फलफूल बिक्री गर्ने कार्कीले मास, भटमास, गहत, सिमी लगायतको गेडागुडी बिक्री गर्ने गरेको बताए। कार्कीको बैतडीमा सुदर्शन कृषि तथा लघु उद्यम फर्म छ भने धनगढी-३ मा गीता कृषि तथा लघु उद्यम फर्म छ। धनगढीको फर्म उनकी १९ वर्षीया छोरी गीताले सञ्चालन गरेकी छन्।

यसरी जुट्यो आर्थिक सहयोग 
पहाडबाट सामान खरिद गर्नका लागि कार्कीलाई सात वर्ष अगाडि नै बैतडीका तत्कालीन  प्रमुख जिल्ला अधिकारी हरिकृष्ण भट्ट र नवजीवन सहकारीका प्रबन्धक डम्बर गुरूले जनही सात लाख रुपैयाँ सहयोग गरेका हुन्। भट्ट र गुरूले निर्व्याजी पैसा दिएकाले सो रकमबाट सात वर्ष अगाडि व्यवसाय गर्न सजिलो भएको कार्कीले सुनाए। उनले गाउँकै नवयुग बचत तथा ऋण सहकारीले पनि व्यवसाय प्रवर्द्धन गर्न सहयोग गरेको बताए। यस्तै, लघु उद्यम विकास बैतडी र कैलालीबाट समेत बजारीकरणमा सहयोग मिलेको कार्कीले बताए।

कैलाली र कञ्चनपुरमा लाग्ने मेला महोत्सवले कार्कीलाई सामान बिक्री गर्न सहयोग पुगेको छ। उनले कैलाली उद्योग वाणिज्य संघले लगाउने महोत्सवमा निस्शुल्क स्टल पाउँछन्। सुदूरपश्चिम महोत्सव र अन्य महोत्सवमा निस्शुल्क स्टल उपलब्ध आफूलाई कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पुष्पराज कुँवरले सहयोग गर्दै आएका छन्।

व्यापारबाटै धनगढीमा घडेरी र घर
सात वर्ष अगाडि २५ डोका सुन्तलाबाट सुरू भएको व्यापारबाटै कार्कीले धेरै मानिसलाई नजिकबाट चिन्न पाएका छन्। उनले हजारौं मान्छेबाट आफन्तको झै माया र सद्भाव पाएका छन् भने उनीहरूको स्वाद र रुचिबारे समेत थाहा पाएका छन्। जसले गर्दा उनलाई ग्राहकको मन पर्ने बस्तु पहाडबाट ल्याउनासाथ खबर गर्न सजिलो हुन्छ। पहाडमा उत्पादन हुने मह, घ्यूसहित सबै किसिमका फलफूल र गेडागुडी उपभोक्ताको दैलोमै पुगाउन पाउँदा कार्कीलाई निकै रमाइलो लाग्ने गरेको छ।

ग्राहकको माया र आफ्नो मेहनतले गर्दा कार्कीले धनगढी-३ बोराडाँडीमा केही वर्ष अगाडि दस धुर जग्गा जोडेको बताए। उक्त जग्गामा उनले घर निर्माण गरेका छन्।  उनले जेठी छोरीलाई जापान पठाएका छन् भने माइली छोरी स्नातक पढ्दै व्यवसायमा सहयोग गरिरहेकी छन्।

कार्कीले बैतडी, दार्चुला र डडेल्धुराबाट स्थानीय उत्पादन संकलन गरेर धनगढी, अत्तरिया र महेन्द्रनगर बजारमा बिक्री गर्दै आएका छन्। यो कामबाट उनले आफूले पूर्ण सन्तुष्टि पाएको र सबै खर्च कटाएर वर्षमा ६ लाख जति बचत हुने गरेको बताएका छन्।

clock सोमबार ०८, मङि्सर २०८२ १०:०८

प्रतिक्रिया