कैलाली भन्सार कार्यालयद्धारा ४ महिनामा २५ प्रतिशत राजस्व संकलन

  सोमबार ०८, मङि्सर २०८२ ०७:३२

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षका ४ महिनामा वार्षिक लक्ष्यको २५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयको चालु आवमा ९ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा ४ महिनामा २५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा २ अर्ब ५१ करोड ८३ लाख राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए ।  कार्यालयले चालु आवका ४ महिनामा कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन् ।

साउनमा ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख अर्थात् ८०.७२ प्रतिशत र भदौमा ७४ करोड २१ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ५३ करोड ७० लाख अर्थात् ७२.३६ प्रतिशत मात्रै राजस्व संकलन भएको उनले जानकारी दिए ।

असोजमा ७६ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ६७ करोड ७८ लाख अर्थात् ८८.२९ प्रतिशत र कात्तिकमा ८४ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ७२ करोड ५४ लाख अर्थात् ८५.६७ प्रतिशतमात्रै राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

गत आव २०८१/८२ मा पनि भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन् । गत आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाखमात्रै राजस्व संकलन भएको थियो । जुन वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशतमात्रै रहेको थियो ।

clock सोमबार ०८, मङि्सर २०८२ ०७:३२

प्रतिक्रिया