ड्रिमर्स कप २०८२’ मा सत्यवती एकेडेमी च्याम्पियन, वेस्टर्न क्रिस्टल उपविजेता

  सोमबार ०८, मङि्सर २०८२ ०७:१०

धनगढी । ‘ड्रिमर्स कप २०८२’ को उपाधि सत्यवती एकेडेमीले जितेको छ। आइतबार धनगढी क्रिकेट एकेडेमीको खेलमैदानमा सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टल एकेडेमीलाई पराजित गर्दै सत्यवतीले उपाधि हात पारेको हो।

‘गो ड्रिमर्स’को आयोजनामा कार्तिक २५ गतेदेखि मंसिर ७ गतेसम्म ‘टाइनी क्रिकेटर्स, बिग ड्रीम’ अर्थात् ‘साना क्रिकेटर, ठुला सपना’ भन्ने नारासहित १३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सेमिफाइनल र फाइनल सहित कुल ५३ खेल खेलिएका थिए।

अन्तिम दिन भएको फाइनलमा ४ समूहका २२ सहभागी विद्यालयबीचको प्रतिस्पर्धाबाट समूह ‘ए’ बाट सत्यवती एकेडेमी र समूह ‘डी’ बाट वेस्टर्न क्रिस्टल एकेडेमी फाइनलमा पुगेका थिए। टस जितेर ब्याटिङ रोजेको वेस्टर्न क्रिस्टलले ८.२ ओभरमै अलआउट हुँदै ३८ रनको लक्ष्य मात्रै दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सत्यवतीले ८.४ ओभरमा लक्ष्य पूरा गर्दै खेल ४ विकेटले जित्यो। टिमका लागि महत्त्वपूर्ण योगदान गरेका आशिष बि।क। ‘प्लेयर अफ द म्याच’ घोषित भए।

विजेता सत्यवती एकेडेमीले नगद २२ हजार २२२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता वेस्टर्न क्रिस्टलले ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। प्लेयर अफ द सिरिज सत्यवती एकेडेमीका सन्देश बोगटीलाई साइकल र ट्रफी प्रदान गरियो। वेस्टर्न क्रिस्टलका १५० रन प्रहार गर्ने कपिल जोशी ‘बेस्ट ब्याट्सम्यान’ भई क्रिकेट ब्याट र ट्रफीका साथ सम्मानित भए। सत्यवतीका ११ विकेट लिने आदर्श थापा ‘बेस्ट बलर’ घोषीत भई जुत्ता र ट्रफी पाए। त्यस्तै, डिस्कोभरी स्कुलका रितिप चलाउने प्रतियोगिताका ‘उदयमान खेलाडी’ भई टेनिस क्रिकेट किट सेट र ट्रफीसहित सम्मानित भए।

विजेता टोलीका कप्तान आदर्श थापाले खेल्ने अवसर दिलाएकोमा आयोजक गो ड्रिमर्सलाई धन्यवाद दिँदै प्रतियोगिताबाट धेरै सिक्न पाएको र आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने बताए। सत्यवती एकेडेमीका सञ्चालक विर बहादुर कडायतले प्रतियोगिताले बाल खेलाडीलाई ठूलो अवसर दिएको र निष्पक्ष सञ्चालनबापत आयोजकलाई धन्यवाद व्यक्त गरे।

समापन समारोहमा एसपीए कलेजका क्याम्पस प्रमुख बुधराम चौधरीले बाल खेलाडीहरूको कौशल देखेर खुसी लागेको बताए। वडा नं। ३ का अध्यक्ष राज बहादुर ऐरले बालापनमा डण्डिवियो खेलेको स्मरण गर्दै आगामी दिनमा ग्रासरुट स्तरका प्रतियोगिता आयोजनामा सहकार्य गर्ने योजना रहेको बताए। प्रमुख अतिथि कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले क्रिकेट अहिले रहर मात्र नभई पेशागत रुपमा विकसित हुँदै गएको भन्दै यस प्रतियोगिताले बाल खेलाडीहरूलाई व्यावसायिक क्रिकेटतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।

प्रतियोगिताका संयोजक तथा धनगढी क्रिकेट एकेडेमीका म्यानेजर सन्दीप भट्टले सहभागी सबै खेलाडी, विद्यालय, संघ–संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष सहयोगीप्रति आभार व्यक्त गर्दै ड्रिमर्स कपमा प्रस्तुत खेल कौशलले धेरै खेलाडी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गरे।

ड्रिमर्स कप २०८२ का मुख्य प्रायोजक एसपीए कलेज धनगढी रहेका थिए। सहयोगी संस्थामा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहे। बेस्ट ब्याट्सम्यान र प्लेयर अफ द म्याच प्रायोजक अनिरुद्र जिडी ग्रुप, प्लेयर अफ द सिरिज स्पन्सर महाबौद्ध फार्मेसी, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, हेल्थ पार्टनर सिपी हस्पिटल तथा इमर्जिङ प्लेयर स्पन्सर जीवन स्टिकर रहेका थिए।

clock सोमबार ०८, मङि्सर २०८२ ०७:१०

प्रतिक्रिया