धान बिक्री नहुँदा कैलालीका किसान समस्यामा

  आइतबार ०७, मङि्सर २०८२ ०८:०२

धनगढी । धान बिक्री नभएपछि कैलालीका किसान समस्यामा परेका छन् । धान बेचेर गहुँको बिउ र मलको जोहो गर्दै आएका कृषक यस वर्ष धान बिक्री गर्न नपाएपछि समस्यामा परेका हुन् । खाद्य, व्यवस्था तथा व्यापारी कम्पनी लिमिटेड र व्यापारी दुवैले धान खरिद नगरेको किसानले जनाएका छन् । केही व्यापारीले सरकारले तोकेको समर्थन मूल्यभन्दा एक हजार कम रुपियाँमा धान खरिद गरेको उनीहरूको भनाइ छ । 

खाद्यले पहिलो चरणको कोटाभन्दा बढी धान खरिद गरिसकेको छ । दुई हप्ताभित्रै कोटाभन्दा बढी धान आएपछि सो कार्यालयले धान खरिद रोकेको छ । काम नचलेपछि कतिपय किसान बाध्य भएर फेरि सस्तोमा व्यापारीलाई धान बिक्री गर्न गइरहेका छन् । 

कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले यस वर्ष धान नै बिक्री गर्न नपाएको गुनासो गरे । उनले गहुँ छर्ने सिजन सकिनै लाग्दासम्म धान बिक्री गर्न नपाउँदा समस्या भएको बताए । अर्का कृषक हरिराम चौधरीले व्यापारीले सस्तोमा पाएपछि मात्रै धान खरिद गरेको गुनासो गरे । 

खाद्यले यस वर्ष कैलालीको छ वटा खरिद केन्द्रबाट धान खरिद गरेको थियो । असोज १२ गतेबाटै धान खरिद कार्य थालेको सो कार्यालयले दुई हप्तामै कोटाभन्दा बढी ३७ हजार ५५।९१ क्विन्टल धान खरिद गरेको छ । यस वर्ष कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिद कोटा निर्धारण गरिएको थियो । 

कुपन वितरण गर्दा किसानले भनेको परिमाणभन्दा ल्याएको धान बढी भएपछि कोटाभन्दा बढी खरिद गर्नु परेको खाद्य तथा व्यापार कम्पनी लिमिटेड कैलालीका प्रमुख दीपक थापाले बताए । उनले बजेट नरहेका कारण अहिलेलाई थप धान खरिद गर्न नसक्ने जनाए । 

“दोस्रो चरणको खरिद कोटाका लागि गृहकार्य गरिरहेका छौँ । त्यो पनि आउने वा नआउने निश्चित छैन,” उनले भने । यस वर्ष व्यापारी, सहकारी, मिलसँग गत वर्षकै धान अझै बाँकी रहेका कारण तिनीहरूले पनि खरिद गर्न नसकेको खाद्यले जनाएको छ । 

गत आवमा कैलालीका लागि ५५ हजार कोटा आउँदा खाद्यले माघसम्म ३४ हजार ५०१.८४ क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । त्यसको अघिल्लो वर्ष पनि ५५ हजार कोटा आएकोमा १८ हजार क्विन्टल धान मात्रै खरिद भएको थियो । 

यस वर्ष खरिद कोटा कम भएपछि किसानले बिक्रीका लागि बढी धान ल्याएको खाद्यको भनाइ छ । धान बिक्री गरेका किसानलाई खाद्यले बैङ्कमार्फत भुक्तानी गरिरहेको छ । 

धान उत्पादन घट्यो

कैलालीमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष करिब सात प्रतिशतले धान उत्पादन घटेको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष करिब २२ हजार १८६ मेट्रिक टन धान घटेको छ । 

गत वर्ष प्रतिहेक्टरमा ४।७ प्रतिशतको दरले तीन लाख १६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष दुई लाख ९४ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक विष्टले बताए ।

उनले पटके खडेरी, मल अभाव र सिँचाइमा विद्युत् आपूर्ति कमीका कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमी आएको उल्लेख गरे । कैलालीमा ६८ हजार हेक्टर जमिनमा धान खेती गरिएको थियो ।   

clock आइतबार ०७, मङि्सर २०८२ ०८:०२

प्रतिक्रिया